arrow

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान चाप

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
TIA Kathmandu.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार शुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ । “दशैँको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान भने चाप बढिरहेको छ”, उनले भने ।

महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर एक सय १० को हाराहारीमा उडान भइरहेको जानकारी दिए । दशैँको समय अर्थात गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै एक सय १३ उडान भएको थियो । 

जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान हो । असोज ३० गते एकसय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एकसय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलको आँकडा छ ।

तिहार, छठलगायत चाडपर्वका साथै पर्यटकीय सिजन पनि चलिरहेकाले हवाई उडान बढेको तिवारीको भनाइ थियो । 

उनका अनुसार तिहार र छठका कारण आन्तरिकतर्फ हवाई यात्रुको चाप दैनिक बढ्दो छ । आन्तरिकतर्फ दैनिक दुई तर्फी गरेर तीन सय उडानमार्फत १४ देखि १५ हजार यात्रु आवतजावत गरिरहेका विमानस्थलका महाप्रबन्धक तिवारीले जानकारी दिए । 

आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् । जाडो यामको नयाँ उडान तालिकामा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपिएको छ । 

विमानस्थलका अनुसार कतार एयरवेज, फ्लाई दुबईलगायत एयरलाइनसले उडान बढाएका छन् । 

एयर ट्राफिक व्यवस्थापन गरेर उडान सहजीकरण भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका महाप्रबन्धक तिवारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ