arrow

रेकर्डधारी खेलाडीहरू दिपेन्द्र र कुशलसँगै एरिकालाई मारवाडी समाजको सम्मान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
marwadi-samaj-samman.jpeg

काठमाडौँ । मारवाडी सेवा समिति नेपालले रेकर्डधारी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ । राजधानीमा सोमबार मारवाडी समाजको धार्मिक एवं सामाजिक परम्परा अनुसार समाजका वन्धु वान्धवहरू भेला भई एक आपसमा शुभकामना आदान प्रदान गरी आपसी भाइचाराको सम्बन्ध अभिवृद्धिका लागि हरेक वर्ष दिपावली स्नेह मिलन समारोह मनाउँदै आइरहेकोमा यसपालि सो कार्यक्रम सँगसँगै खेलाडीहरूलाई सम्मान गरेको हो । 

सम्मानित हुनेहरूमा चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू दिपेन्द्र सिंह ऐरी र कुशल मल्ल तथा कराते खेलाडी एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको हो । 

क्रिकेटको एउटै खेलमा अति नै दुर्लभ पाँच ओटा विश्व कीर्तिमान बनाउने क्रममा दिपेन्द्रले ९ बलमा अर्धशतक तथा कुशलले ३४ बलमा शतक बनाएका थिए । 

त्यस्तै एरिकाले नेपाललाई करातेबाट पहिलो पटक एसियाली खेलकुदमा रजत पदक दिलाएकी थिइन् । तीनै जनलाई मारवाडी समाजले जनही एक लाख एक हजार नगदसहित सम्मानपत्र प्रदान गरेको छ । 

सम्पूर्ण क्रिकेट टिम र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीलाई बोलाइएको भए पनि तिहारका कारण लाखा पाखा भएका कारण उपस्थित हुन सकेनन् । कुशल पनि उपस्थित हुन नसक्दा सम्मान दिपेन्द्रले नै ग्रहण गरेका थिए । 

सोही अवसरमा मारवाडी समाजका सदस्यहरू एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाल र पूर्व क्रिकेटर पारस लुनियालाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको थियो । 

मारवाडी सेवा समिति नेपालले उत्सव एवं समारोहहरूमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्नेलाई सम्मान गर्दै आएकामा यसपालि खेलाडीहरूलाई सम्मान गरेको हो । 

मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले सो अवसरमा शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व २०८० को शुभकामना दिँदै मारवाडी सेवा समिति नेपालले सामाजिक, राजनैतिक, धार्मिक, शैक्षिक, सांस्कृतिक, आर्थिक एवं प्राकृतिक आपतविपतमा पुर्याउँदै आइरहेको सेवा कार्यबारे उल्लेख गरेका थिए । 

जाजरकोट र पश्चिम रुकुममा गएको मझौला खालको विनाशकारी भूकम्पमा परी ठूलो जनधनको क्षति भएकोमा त्यस क्षेत्रमा मारवाडी सेवा समिति नेपालको तर्फबाट राहत पठाउने कार्य भइरहेको र पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पि. फम मेट ९०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याक गरिएको ४०० प्याकेट चामल हस्तान्तरण गरिएको गोयलले जानकारी गराए । 

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष श्री पवन मित्तल, मारवाडी महिला मंचकी अध्यक्ष श्रीमती अर्चना काबरा, मारवाडी युवा मंचका अध्यक्ष शैलेन्द्र शर्माले शुभकामना मन्तव्य दिएका थिए । 

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई दिपावली स्नेह मिलन समारोह–२०८० तयारी समितिका संयोजक रमेश तापडि़याले धन्यवाद ज्ञापन गरेका थिए । 

कार्यक्रमको संचालन मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद कुमार अग्रवालले गरेका थिए । त्यस्तै मारवाडी सम्मान कार्यक्रमको संचालन मारवाडी युवा मंचका महासचिव श्री प्रकाश कुमार केजरीवालले गरेका थिए । 

मारवाडी सेवा समिति नेपाल, श्री पशुपति गौशाला धर्मशाला, मारवाडी सेवा ग्राम गौधाम (धार्के) मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चसहित समाजका महानुभावको उल्लेख्य सहभागितामा श्री गणेशजी, श्री महालक्ष्मीजीको तस्बिरमा माल्यार्पण एवं पुष्प अर्पण गर्दै भव्य एवं उल्लाषमय वातावरणमा मनाइएको थियो । 

कार्यक्रममा पूर्व खेलाडी लुनियाले क्रिकेटको माहोल बढ्दै गएको भन्दै यसमा लगानी गर्न मारवाडी समाजलाई आग्रह गरेका थिए । 
 

marwadi-samman-kheladi-2080-07-27 (6).jpeg
marwadi-samman-kheladi-2080-07-27 (7).jpeg
marwadi-samman-kheladi-2080-07-27 (8).jpeg
marwadi-samman-kheladi-2080-07-27 (9).jpeg
marwadi-samman-kheladi-2080-07-27 (1).jpeg
marwadi-samman-kheladi-2080-07-27 (2).jpeg
marwadi-samman-kheladi-2080-07-27 (3).jpeg
marwadi-samman-kheladi-2080-07-27 (4).jpeg
marwadi-samman-kheladi-2080-07-27 (5).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ