arrow

स्थानीय तह पुर्नसंरचनाको बैठकमा कुरो नमिलेपछि बैठक निष्कर्ष विहिन

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ कार्तिक २० शनिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न बसेको राजनीतिक दलहरु तथा जिल्ला प्राविधिक समितिको बैठक शुक्रवार दोश्रो दिन समेत विना निश्कर्ष टुङ्गिएको छ । विहीवारबाट सुरु छलफलमा अधिकांश दलहरुले आ–आफ्नै प्रस्ताव छलफलमा टेवल गरेका थिए । विहीवार पछिल्लो पटक नागरिक स्तरबाट आएका माग सुन्ने तथा दलहरुले आ–आफ्नो प्रस्ताव बैठकमा पेश गरेका थिए ।
 
शुक्रवार भने दलहरु स्थानीय तहको संख्या र सीमाका बिषयमा गहन छलफलमा जुटेका थिए । मध्यान्नबाट सुरु बैठक साँझ ५ बजे शनिवार पुनः बस्नेगरी स्थगित भएको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) पाँचथरका इन्चार्ज हर्क नेम्वाङ ‘मिक्सो’ले जानकारी दिए । स्रोत अनुसार छलफलमा नेपाली काँग्रेसले ८, नेकपा (एमाले) अघिल्लो पटकको सहमतिको ५ वा ७ तथा नेकपा (माओवादी केन्द्र)ले ९ स्थानीय तह निर्माणको प्रस्ताव गरेका छन् ।
 
उनीहरुले सीमाङ्कन सहितका फिदिम नगरपालिका तथा अन्य गाँउपालिका निर्माणको प्रस्ताव गरेको स्रोतको भनाई छ । यस्तै अन्य दलहरुले समेत सीमाङ्कन सहितका तथा सीमाङ्कनविहीन प्रस्ताव पेश गरेका थिए । नेपाली काँग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले जनताका आकाङ्क्क्षा पूरा गर्ने गरी स्थानीय तह निर्माण गर्ने बिषयमा घनिभूत छलफल भएको तर, निश्कर्ष निस्कन बाँकी रहेको वताए ।
 
राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचथरका अध्यक्ष मानदेव केरुङले ८ स्थानीय तह निर्माणका बिषयमा छलफल सकारात्मक रहेको उल्लेख गरे । विभिन्न क्षेत्रका स्थानीयको उपस्थितिमाझ जिविस पाँचथरको हलमा दिनभर चलेको छलफलमा जिल्ला प्राविधिक समितिले समेत प्रस्ताव पेश गरेको बुझिएको छ । यद्यपी उक्त प्रस्ताव सार्वजनिक नगर्ने दलहरुवीच सहमति जुटेको छ ।
 
स्थानीय तह पुनर्संरचना आयोगले शनिबार सम्ममा जिल्लाबाट सीमाङ्कन तथा नामाङ्कन सहितको पुनर्संरचनाको प्रतिवेदन आयोगमा पठाइसक्न प्राविधिक समितिलाई आग्रह गरेको छ । आयोगले पाँचथरमा ५ देखि ८ ओटासम्म स्थानीय तह निर्माणको प्रतिवेदन पठाउन सक्ने जनाएको छ । 
 
यसैवीच दलहरु हालको इलाका नं. ९ का सुख्खाग्रस्त गाविसहरु आङ्ना, मौवा, हाङ्गुम र ओलनेलाई विशेष क्षेत्र निर्माणको प्रस्ताव गर्न सकारात्मक देखिएका छन् ।बैठकमा सहभागी मधेश जनअधिकार फोरम लोकतान्त्रिकका नरेन्द्रप्रसाद दुलालले स्थानीयको चाहना बमोजिम उक्त क्षेत्रलाई विशेष क्षेत्र बनाउन सबै दलहरु सकारात्मक रहेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ