arrow

बूढीगण्डकी प्रभावितलाई उचित मुआब्जा दिनुपर्छ : भट्टराई

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
Baburam-bhattrai-stage.jpg.jpeg
गोरखा। नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी प्रभावित गोरखा र धादिङका स्थानीयवासीलाई उचित मुआब्जा दिएर आयोजनाको काम तीव्ररुपमा अघि बढाउनुपर्ने बताएका छन् । 
 
गोरखाको दर्बुङ गाविसस्थित दर्बुङफाँटमा शनिबार आयोजित कार्यक्रममा भट्टराईले मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जामा केही बढाएर प्रभावित गाविसवासीलाई खुसी बनाउँदै आयोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिए । 
 
बूढीगण्डकी आयोजना निर्माण हुँदा गोरखाका विभिन्न १४ र धादिङका १३ गाविस प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । प्रभावित क्षेत्रका जनतालाई दोब्बर, तेब्बर मुआब्जा दिनुपर्ने भन्दै उनले भने , “जसरी पनि बूढीगण्डकी आयोजना समयमै बनाउनुपर्छ ।” 
 
उनले बूढीगण्डकी जलविद्युत् आयोजना बनाउने नाउँमा गरिब, पीडित जनतालाई थोरै मुआब्जा वितरण गर्न नहुने बताए । “आयोजना बनेपछि तीन करोड जनता खुसी हुन्छन्”– उनले भने, “तीन करोड जनता खुसी हुने नाउँमा ५० हजार प्रभावितलाई बेवास्ता नगरौँ ।” 
 
भट्टराईले भोलि मकैसिङको बुट्टार र भुम्लिचोकको तमनडाँडामा कार्यक्रम रहेको नयाँ शक्ति पार्टीका जिल्लास्थित नेता तथा पूर्वसभासद् ज्ञानेन्द्र कुमालले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ