arrow

मन्त्रीहरूको कामप्रति प्रचण्ड असन्तुष्ट, टिम फेर्ने तयारी, कांग्रेसभित्र सनसनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
cabinet-2080-08-07b.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूले बनाएका मन्त्रीहरू फेर्ने तयारीमा रहेका छन् । मन्त्रीहरूले जनअपेक्षा अनुरुप काम नगरेपछि प्रचण्डले काम नगर्ने मन्त्रीहरू फेर्ने योजना बनाएका हुन् । 

उनले सत्ताको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार उनले कांग्रेसका केही नेताहरूसँग टेलिफोनमा वार्तासमेत गरिसकेका छन् । 

सरकारमा सहभागी सबै दलका मन्त्री चित्त बुझ्दो जिम्मेवारी बहन गर्न नसकेको भनी प्रचण्ड रुष्ट भएका हुन् । प्रचण्डले गत महिनादेखि नै असन्तुष्ट पोख्दै आएका छन् । 

प्रचण्डकै पार्टी माओवादीभित्र पनि असन्तुष्टि चुलिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर पहिलेदेखि नै असन्तुष्टि छ । उनले प्रहरी प्रशासनलाई तालमेलमा ल्याउन नसकेको आरोप खेप्दै आएका छन् । 

सत्ता गठबन्धनका कारण प्रचण्डले असहज महसुस गरेका हुन सक्छन् । 

कांग्रेसभित्रै तीव्र असन्तुष्टि
नेपाली कांग्रेसभित्र नै मन्त्रीहरूको काम देखेर तीव्र असन्तुष्टि रहेको छ । कांग्रेस सरकारमा सहभागी भएको नौ महिना हुन लाग्दा पनि सरकारमा रहेको अनुभूति स्वयं कांग्रेसका नेताहरूले गर्न नपाएको गुनासो गर्दै आएका छन् । 

गत साउनमा भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमै असन्तुष्टि सुनिएको थियो । तर त्यतिबेला मन्त्रीहरूले व्यक्तिगत रुपमा लिएर उल्टै इख पोख्ने काम गरे । 

कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘यो र त्यो मन्त्री भन्दा पनि सबै मन्त्रालयको रिभ्यु गनुपर्ने भएको छ । कुनै पनि मन्त्रालयको बारेमा सकारात्मक सन्देश जनसमक्ष गएको छैन । यसमा छलफल हुनुपर्छ । छिट्टै हुन्छ ।’

बजेटका बेलादेखि नै अर्थमन्त्री डा. प्रकाशशरण महत र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल विवादित हुँदै आएका छन् । 

सेनाभित्रको विवाद र माओवादीको जनसेनाबाट समाहित भएर आएका सहायक रथी यमप्रसाद अधिकारीको समय थपेर अगाडि बढ्ने कदममा साथ दिएसँगै मुछिएर उच्च अधिकृतहरूको कहिले शैक्षिक प्रमाणपत्र र कहिले उमेर विवादका विषयमा कडा भएर प्रस्तुत हुन नसकेको आरोपमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का पनि विवादमा तानिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतका कर्मदेखि त सत्याग्रही प्राडा गोविन्द केसीलेसमेत चर्को असन्तुष्टि पोखेका छन् । 

मन्त्री आएपछि उनको व्यवहारका कारण चिकित्सकहरू अस्पताल गएर बिरामी हेर्ने माहोलसमेत कम भएको छ । वीर अस्पतालमा व्यवस्थित नगरी एकैपटक थुप्रै संख्यामा चिकित्सक निकालेर मन्त्री बस्नेतले अस्पताललाई नै रोगी बनाउन खोजेको आरोप लागेको छ । यतिसम्मकि वीरका चिकित्सक एवं स्वास्थ्यकर्मीले तलबसमेत पाउन सकेका छैनन् । 

परराष्ट्र मन्त्री एनपी साउदलाई त कांग्रेसकै नेता कार्यकर्ताहरू हवाई मन्त्री भन्न थालेका छन् । परराष्ट्र कूटनीतिमा कुनै सम्झनलायक काम नगरे पनि विदेश भ्रमणमा निरन्तर रहिरहने भएका कारण उनलाई हवाई मन्त्री भनिएको हो । 

अन्य मन्त्रीहरू पनि आरोपबाट अछुतो रहन सकेका छैनन् । 

यूएईबाट फर्केपछि प्रचण्डले मन्त्री फेर्ने तयारी
सबैजसो मन्त्रीहरूबाट राम्रो काम हुन नसकेपछि रिसाएका प्रधानमन्त्री प्रचण्डले यूएईबाट फर्केपछि यो प्रक्रियालाई अगाडि बढाउने बुझिएको छ । 

उनले कांग्रेसका नेताहरूलाईसमेत आफू विदेशबाट फर्केपछि तत्काल छलफल गरेर यो विषय टुंगोमा पुर्याउनु पर्नेमा उनले जोड दिएको स्रोतले बताएको छ । 

कांग्रेसको एक पदाधिकारीको भनाइलाई मान्ने हो भने प्रचण्ड यसपालि अलि गम्भीर मुद्रामा देखिएका छन् । आफ्नो कार्यकाललाई विगतको भन्दा भिन्न गराउने उद्धेश्यमा रहेका प्रचण्डले अहिलेको सेट नै फेर्नतर्फ अग्रसर भएको बालुवाटार स्रोत बताउँछ । 

अर्थमन्त्री एवं कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने मन्त्रीको सेटै फेर्ने विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । 

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि संचारकर्मीहरूसँग महतले आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताएका हुन् । 

उनले ‘जुन बेलामा जे होला, थाहा भइहाल्छ’ भनेर तर्किए । अर्थात् यसरी बोलिरहँदा उनले पनि यसको सुइँको पाइसकेको हुनुपर्छ । 

कांग्रेसले सरकारको समीक्षा गर्ने 
यतिधेरै हल्लीखल्ली भइरहँदा कांग्रेसले सरकारको समीक्षा गर्ने भएको छ । पार्टी सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले नागरिकका निराशालाई सम्बोधन गर्न के गर्यो भनेर प्रश्न उठिरहेकाले मन्त्रीहरूलाई राखेर सरकारको समीक्षा गर्न लागेको बताएका छन् । 

संचारकर्मीसँग उनले केही दिनमै बैठक डाकेर मन्त्रीहरूसँग छलफल गर्ने जनाएका हुन् । उक्त बैठकमा देशमा आएका विपद्, नागरिकका अप्ठेरा र सरकारका नियमित कामलाई प्रभावकारी बनाउने विषयमा गम्भीर समीक्षा हुने बताएका छन् । 

सरकारको काम भरोसा लाग्दो नभएको भन्दै महामन्त्री गगनकुमार थापाले गम्भीर समीक्षा गरेर अगाडि बढ्नु पर्ने बताउँदै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ