arrow

नेपालको संविधान लचिलो र गतिशील छः शेरबहादुर देउवा

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
Sher.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान धेरै लचिलो र गतिशील भएको बताएका छन् ।  
 
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयले सभापति देउवालाई मानार्थ विद्यावारिधीको उपाधिबाट सम्मान गर्न नयाँदिल्लीमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले महिला, मधेसी, आदिवासी÷जनजाति, दलित, पिछडिएको क्षेत्रलगायत अल्पसङ्ख्यकलाई विशेष अधिकार प्रदान गरेको उल्लेख गरे । 
 
जनताद्वारा निर्वाचित संविधानसभाको दुई तिहाइभन्दा बढी बहुमतले पारित गरी घोषणा गरेको संविधानले खाद्य, बसोबास, सामाजिक सुरक्षा, शिक्षालगायत विषयका ३१ मौलिक अधिकारको व्यवस्था गरेको बताउँदै उनले भने, “संविधानका निश्चित प्रावधानप्रति केही पक्ष असन्तुष्ट छ, त्यसलाई संविधान संशोधनमार्फत सम्बोधन गरी सर्वस्वीकार्य बनाउन हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ ।” 
 
सभापति देउवाले भारतको लोकतन्त्रका विविध पक्षको प्रशंसा गर्दै भारतको स्वतन्त्रता सङ्ग्राममा महामानव बिपी कोइरालालगायत नेपाली नेता सक्रियरुपमा लागेको स्मरण गराए । उनले नेपालको लोकतन्त्रमा भारतका नेताको पनि सहयोग रहेको बताए । 
 
सभापति देउवाले नेपालको लोकतन्त्रका उतारचढावको चर्चा गर्दै १० वर्षे सशस्त्र द्वन्द्वलाई समाप्त गरी शान्तिमा रुपान्तरण गर्न नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको र यसमा भारतको पनि सहयोग रहेको धारणा व्यक्त गरे । 
 
नेपाल–भारत दुवै मुलुक विभिन्न यात्रामा सँगै रहेका र भौगोलिक, सांस्कृतिक र धार्मिक रुपमा आपसमा बाँधिएको उल्लेख गर्दै सभापति देउवाले दुवै मुलुकका जनताबीच घनिष्ठ सम्बन्ध रहेको छ भने । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ