arrow

भीम रावलमाथि निषेधको राजनीति, सुदूरपश्चिमबाटै थालिएको संकल्प यात्रामा अनुपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
Bhim-Rawal.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेले समृद्धिका लागि संकल्प यात्रा शुरु गरेको बैतडीको झुलाघाटबाट छुटेका नेता डा भीमबहादुर रावल पाँचथरको चिवाभञ्ज्याङमा पनि नभेटिने भएका छन् । 

बैतडीको झुलाघाटबाट शुरु भएको संकल्पयात्रा पाँचथरको चिवाभञ्ज्याङमा टुंगिने भए पनि भीम रावल भने कतै नभेटिने भएका हुुन । 

अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर अभियान थालनी गरेका थिए । सुदूरपश्चिम प्रदेशले रावललाई निम्ता गरे पनि एमाले महासचिवले त्यसलाई स्वीकृति नदिएपछि रावल सहभागी नभएका हुन् । 

पुष्पलाल मध्यपहाडी लोकमार्ग क्षेत्रमा केन्द्रित अभियान आगामी पुस २ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न गरिने लक्ष्य छ । 

एमाले यसअघि २०७३ फागुनमा पनि १५ दिने मेची–महाकाली अभियान चलाएको थियो । यसपटक भने पहाडी क्षेत्रका ४० स्थानमा कार्यक्रम आयोजना गरेर स्थानीयको सुझाव संकलन गरिने जनाएको छ । 

२१ दिने लामो अभियानमा एमाले अध्यक्षसहित अधिकांश केन्द्रीय नेता सहभागी छन् । राजधानीबाट त्यहाँ पुगेका नेताहरुको प्रत्येक टिममा पाँच जनालाई राखिएको छ । 

सवारी साधन पनि त्यसैगरी मिलाइएको जानकारी दिइएको छ । एमाले अध्यक्षसँगै पाँच वटा सवारी साधनमा २५ जना रहेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग एउटा सवारी साधनमा पाँच जनालाई राखिएको छ । 

त्यस्तै उपाध्यक्ष युवराज ज्ञवालीसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव गोकर्णराज विष्ट संलग्न टोलीमा पाँच जना, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको टोलीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र डा. पुष्पराज कँडेलसहित पाँच जना राखिएको छ । 

बिहीबारको कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल,सचिव लेखराज भट्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्यमाकुमारी अर्याल पुगेका थिए । 

चीनमा रहेका उपमहासचिव प्रदीप ज्ञवाली दैलेखदेखिको अभियानमा मात्र सामेल हुनेछन् । 

शुक्रबार डोटीको सिलगढीमा जनसभा, शनिबार दिउँसो १ बजे अछामको साँफेबगर र साढे ३ बजे मंगलसेनमा सन्देश सभा हुने छ । 

सुदूरपश्चिम प्रदेशका सबै कार्यक्रममा रावललाई कहि कतै पनि सहभागी गराइएको छैन । 

त्यहाँका नेता कार्यकर्ताले भीम रावलको नाम लिए पनि उनलाई पार्टी महासचिव शंकर पोखरेलकै पहलमा रोकिएको स्रोतको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ