- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ढोरपाटन । गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौं पुराना घर अहिले पनि बलिया छन् । परम्परागत रुपमा बनेका मौलिक घर पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेको छ ।
घरको आँगनमै आएको विकासले स्थानीयलाई सहज त दिलायो, त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढ्यो । तोरीखोला गाउँजस्ता मौलिकता बोकेका गाउँ बागलुङ थुप्रै थिए । तर पछिल्लो समय ती गाउँमा मौलिकता हराएको छ । घर बनाउँदा ढुङ्गा, माटो र काठको प्रयोग गर्नुको सट्टा कङ्क्रिट प्रयोग हुन थाले । जसले गाउँ कुरुप बन्दै गएका छन् । तोरीखोला गाउँको मौलिकता भने अहिलेसम्म जोगाइ राखिएको छ ।
बढ्दो सहरीकरण र आधनिकताले गाउँको परम्परा हराउँन थालेपछि गलकोट नगरपालिकाले पनि संरक्षणमा चासो दिएको छ । गाउँको सुन्दरता, मौलिकता र परम्परालाई जोगाउन तोरीखोला गाउँलाई नगरपालिकाले ‘मौलिक गाउँ’ का रुपमा विकास गर्ने भएको छ । तोरीखोला गाउँ अहिले पनि जिल्लामा चर्चित गाउँ हो । जहाँ हरेक महिना आन्तरिक तथा बाह्य पर्यटक फाट्टफुट्ट पुग्ने गर्छन् ।
यस गाउँमा बनेका पुराना आकर्षक घरले धेरैलाई लोभ्याउने गरेको छ । केही वर्ष अगाडि सडक पुगेपछि गाउँमा एक/दुई वटा सिमेन्टका घरसमेत बन्न थालेका छन् भने स्थानीयले ढुङ्गाको छानो हटाएर जस्तापाता प्रयोगसमेत गर्न थालेका छन् । नगरपालिकाले यसलाई रोक्न नीतिनै बनाएर लाग्न थालेको छ । ग्रामीण जीवनशैली, शान्त वातावरण र प्राकृतिक मनोरम भएको तोरीखोला जिल्लामा छुट्टै पहिचान बनाएको गाउँका रुपमा चिनिन्छ ।
यहाँका कला, संस्कृति र रीतिरिवाज विस्तारै हराउन थालेपछि बूढापाका चिन्तित छन् । गलकोट क्षेत्रलाई बागलुङमै सबैभन्दा बढी विदेश जाने क्षेत्रका रुपमा लिइन्छ । विदेश गएर आएपछि धेरैले मौलिक घरलाई हटाएर कङ्क्रिटको बनाउन थालेका छन् । मौलिक घरलाई संरक्षण गर्न नसके गाउँको अस्तित्व समाप्त हुने स्थानीय मोहन कालाले बताए ।
हरेक वर्ष गाउँमा परम्परागतभन्दा फरक शैलीमा घर भवन बन्न थालेको भन्दै त्यसलाई रोक्नका लागि नगरपालिकाले चासो दिएको उनको भनाइ छ । गाउँमा थुप्रै कला, संस्कृति र परम्परा भए पनि युवा पुस्ताले चासो दिन छोडेपछि हराउन थालेको कालाले गुनासो पोखे । अचेल गाउँमा युवा शक्तिनै नभएको भन्दै बूढापाकाले थाम्दै आएको उनी बताउछन् ।
“बाक्लो बस्ती छ, एकै नासका घर भएर होला बाहिरबाट आउने पाहुनाले खुब मन पराउनुहुन्छ यो गाउँलाई, बाहिरका मान्छेले मन पराएर मात्रै के गर्ने यहाँका युवाले माया मार्दै सहर बजार र विदेश जान थाले, बूढापाका रहँदासम्म गाउँ रहला त्यसपछि त सुनसान हुन्छ होला” कालाले भने, “अहिले त नयाँ खालका घर बनाउन थालेका छन्, पुराना ‘डिजाइन’का घरलाई हटाउन थालेका छन्, हामी यस्तै घरमा जन्मियौँ, हुर्क्यौं र अहिलेसम्म बसिरहेका छौँ, हामीभन्दा पछाडिका पुस्ताले गाउँलाई माया गर्न छोडे, हाम्रो पहिचान कला संस्कृति र रीतिरिवाज हो अब कसले संरक्षण गर्छ ।”
गलकोट नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष हिमबहादुर भण्डारीले तोरीखोला गाउँलाई ‘मौलिक गाउँ’ का रुपमा विकास गर्ने बताए । यहाँ अब बन्ने हरेक घर स्थानीय स्रोत साधान प्रयोग गरेर पुरानै शैलीमा बनाइनुपर्ने भन्दै सिमेन्टेड घर बनाउन रोक लगाउने बताए ।
अध्यक्ष भण्डारीले यहाँका हरेक घरमा सकेसम्म रातोमाटो र सेतो कमेरोले रङ्ग्याउने नभए एकै किसिमको रङ लगाउनुपर्ने मापदण्ड बनाउने बताए । तोरीखोलामा वर्षौं पुराना कला संस्कृति प्रचलनमा रहेको हुँदा नगरपालिकाले पनि संरक्षण गर्न थालेको उनको भनाइ छ ।
हाल यस गाउँमा पाँच घरमा घरबास (होम-स्टे) सञ्चालनमा रहेको र गाउँलाई मौलिक बनाएर पर्यटक भित्र्याउने र स्थानीयको आयआर्जनसँग जोड्ने उनी बताउछन् ।
भण्डारीले तोरीखोला गाउँ विकासका पूर्वाधारले जोडिएपछि ठूलो परिवर्तन भएको सुनाउँदै स्थानीयको जीवनशैली पनि फेरिएको बताए । कला संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि आफूहरुले काम गरिरहेको अध्यक्ष भण्डारीको भनाइ छ ।
उनले भने, “गाउँ-गाउँमा मोटरबाटो पुगेपछि पक्की घर भवन धमाधम बनिरहेका छन्, हामीहरुले गाउँको सुन्दरता र पहिचानलाई जोगाउन थालेका छौँ, तोरीखोला गाउँ निकै पुरानो र मौलिकता बोकेको गाउँ भएको हुँदा यसलाई ‘मौलिक गाउँ’ कै रुपमा राख्नुपर्छ, अहिले गाउँमा प्रविधिले सबै मौलिकता हराउन थालेका छन्, यहाँ अहिले पनि होम-स्टे सञ्चालनमा छन्, धेरै कला संस्कृति पनि प्रचलनमा रहेको हुँदा युवापुस्तालाई यसप्रति आकर्षण गर्ने र संरक्षणमा टेवा पुर्याउने हिसाबले कामको सुरुआत गरेका छौँ, तोरीखोला गाउँको सुन्दरता र मौलिकतालाई जोगाइराख्न हामी गम्भीर बनेका छौँ, पर्यटक भित्र्याउनका लागि प्रयास थालेका छौँ ।” रासस