रामचन्द्र भन्छन्– विधान संशोधन हुनै सक्दैन भन्नु एमालेको अतिवादी सोच
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
646
Shares
कास्की। नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन हुनै सक्दैन भन्ने एमालेको अतिवादी सोच र आफुले भनेका सबै माग पूरा हुनैपर्छ भन्ने मधेसवादी दलको हठ अन्त्य हुनै पर्ने बाएका छन् । नेपाली काँग्रेस कास्कीले गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले यी विरोधाभास त्यागेर सबै लचक भई एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।
संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताउँदै नेता पौडेलले भने, ‘मधेसवादी र जनजाति समुदायका गुनासालाई संविधान संशोधनबाट सम्बोधन गरेर संविधान कार्यान्वयनका दिशामा अघि बढ्नु पर्छ ।’
विसं २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयन हुन सक्ने धारणा राख्दै उनले यतिका उपलब्धि भइसकेपछि पनि सानातिना कुरामा अल्झेर प्राप्त उपलब्धि गुम्न नदिन सबै राजनीतिक दलसँग आग्रह गरे ।
नेपाली काँग्रेस पद्दति, प्रक्रिया, संस्थागत र समझदारीद्वारा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पार्टी कार्यकर्ताको सही मूल्याङ्कन भएमा मात्रै पार्टी एकता हुने राय प्रकट गरे ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्थानीय तहको निर्वाचन नजिक आइरहेकाले पार्टी कार्यकर्ता गाउँगाउँमा गएर जनताको मन जित्ने गरी काम गर्नु्पर्ने बताए । यसैबीच नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस कास्कीका पूर्व सभापति खेमराज पौडेलकी आमा नन्दकली पौडेललाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि दिए ।