arrow

अंगिकृत नागरिक राष्ट्रप्रमुख बन्न पाउने प्रचार गलत : कानुनमन्त्री

‘राष्ट्रिय सहमति जुटाएरै छिट्टै संविधान संशोधन प्रस्ताव संसदमा पेश हुन्छ’

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
ajaya-ji.jpeg
काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले सरकारले आधिकारिक रुपमा अंगीकृत नागरिकता लिएकालाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउनेगरि संविधान संशोधनको प्रस्ताव ल्याउन लागेको भनेर गलत प्रचार गरेको बताउँदै भने,‘सरकारले आधिकारिक रुपमा यसबारेमा केही बोलेको छैन, यो त अन्तरिम संविधानमा पनि उल्लेख गरिएको छैन, धारा १५५ मा यो बारेमा प्रष्ट व्यवस्था गरिएको छ ।’
 
 
मन्त्री नायकले चार विवादित विषयहरु प्रदेशको सिमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वमा राष्ट्रिय सहमति जुटाएर संविधान संशोधनको प्रस्ताव छिट्टै संसदमा पेश गर्ने बताएका छन् । 
 
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले विवादित विषयहरुमा सरकारले साझा मिलनविन्दु खोजिरहेको उल्लेख गर्दै प्रमुख दलहरुवीच राष्ट्रिय सहमति जुटाएर चाँडो भन्दा चाँडो संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताएका हुन् । उनले भने,‘सबैले राष्ट्रिय सहमति जुटाउनको लागि प्रयास गर्नुपर्छ, कसैले पनि भाँडभैलो मच्चाउने काम वा आन्तरिक चलखेल गर्ने काम गर्नुहुँदैन् ।’ 
 
उनले पछिल्लो समय संविधान संशोधनको लागि सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारीवीच छलफल भैरहेको भन्दै विवादित विषयमा साझा मिलनविन्दु खोज्ने बताए । उनले थपे,‘पहिलो कुरा सहमतिको धरातल हामी सबैले मिलेर निर्माण गर्नुपर्छ ।’ उनले मुलुकलाई निकास दिनको लागि सबै पक्ष गम्भिर बन्नुपर्ने बताउँदै छलफलका क्रममा कसैले पनि बटमलाईन बनाउन नहुने धारणा राखे । 
 
मन्त्री नायकले सिमांकनको विवाद कसरी हल गर्ने भन्नेबारेमा विभिन्न विकल्पका बारेमा छलफल भैरहेको उल्लेख गर्दै भने,‘यो विवाद हल गर्नको लागि अहिले गहन छलफल भैरहेको छ, संघीय आयोग गठन गर्ने र त्यसले अघि सारेको रिपोर्टलाई आधार मानेर अघि बढ्ने लगायतका अन्य विकल्पहरुमा छलफल भैरहेको छ ।’ त्यस्तै उनले निर्वाचन क्षेत्र जनसंख्याको आधारमा गर्ने, भाषावारे खासै विवाद नभएको समेत स्पष्ट पारे । 
 
मुलुकलाई अघि बढाउन र संविधान कार्यान्वयनको लागि पनि निर्वाचन अनिवार्य आवश्यक भएकोले सरकारले मुलुकलाई त्यतातर्फ डोर्याईरहेको मन्त्री नायकले बताए । उनले थपे,‘सरकारले निर्वाचन गर्नको लागि आवश्यक विद्येयकहरु संसदमा पेश गरिसकेको छ, निर्वाचन क्षेत्र निर्धारण विद्येयक निर्माण हुँदैछ ।’ उनले देशलाई अब निर्वाचनको मोडमा डोर्याउने तयारी भएको बताए । उनले ऐन तथा कानूनहरुका कारणले निर्वाचन नरोकिने समेत दाबी गरे । 
 
मन्त्री नायकले सरकारको सय दिने कार्यकाल पूर्ण रुपमा सफल रहेको दाबी गर्दै भने,‘सरकारको बारेमा अहिले एक प्रतिशतपनि प्रश्न गर्ने ठाउँ छैन, हामीले राम्रो काम गरेका छौं, संविधान कार्यान्वयनको लागि काम भएको छ, उच्च अदालत गठन भएको छ ।’ उनले कसैले भाँडभैलो र मजा लिनको लागि सरकारको बारेमा कमेन्ट गर्दा मुलुकलाई नै घाटा हुने चिन्ता व्यक्त गरे । 
 
उनले मुलुकको राष्ट्रिय जटिलता हल गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले महत्वपूर्ण काम गरेको स्पष्ट पारे । उनले थपे,‘मधेशमा एउटा अतिवादीहरु हावी भैरहेका छन्, मोर्चाहरुलाई एकतावद्ध गरेर सहमति हल गर्न प्रधानमन्त्रीले विशेष पहल गर्नुभएको छ, अहिलेको अवस्थामा मधेशको समस्या हल गरियो भने अतिवादीहरु हराउँछन् ।’
 
मन्त्री नायकले उच्च अदालत र सर्वोच्च अदालतमा छिट्टै न्यायधिशहरु नियुक्ती गर्ने समेत जानकारी दिए । उनले थपे,‘न्यायधिशहरु छिट्टै नियुक्ती हुन्छन, ८२ जना न्यायधिशहरु नियुक्त गर्नुपर्नेछ, आजबाट प्रक्रिया सुरु हुन्छ ।’ उनले न्यायधिश नियुक्तीमा कुनै विवाद नहुने समेत दाबी गरे । नायकले थपे,‘योग्य र सक्षम व्यक्तिलाई सिफारिश गरिन्छ, उहाँहरुको बारेमा सुनुवाई हुन्छ।’
 
उनले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा काँग्रेसले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले थपे,‘काँग्रेसका जिम्मेवार नेता तथा मन्त्रीहरुले रोष्ट्रममै उभिएर यसबारेमा बोल्नुभएको छ, काँग्रेसभित्र यो प्रस्ताव पारित गर्ने दबाब छ, यो प्रस्ताव पारित हुनेमा म पूर्ण विश्वस्त छु ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ