काठमाडौ । अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले अमेरिकी राष्ट्रपति पदकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई इमेल प्रकरणमा सफाइ दिएपछि उक्त निर्णयप्रति रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पले कडा आपत्ति जनाएका छन् । ट्रम्पले एफबीआईले पुन: एकचोटी क्लिन्टनलाई निर्दोष सावित गरेर बेइमानी गरेको आरोप लगाए ।
एफबीआईले मतदानको दुई दिन पहिले क्लिन्टनको ईमेलमा आपराधिक विषय केही नरहेको भन्दै सफाई दिएको हो । योसंगै क्लिन्टन अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने सम्भावना बढेको छ ।
क्लिन्टनले प्रयोग गरेका ईमेलमा आपराधिक कुराको कुनै प्रमाण नमिलेको एफबीआईले प्रष्ट पारेको छ । यसअघि एफबीआईले निर्वाचनको ११ दिन पहिले फेरि ईमेल जाँच थालेपछि एकाएक क्लिन्टनको पक्षमा केही गिरावट आएको थियो ।
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने धमाधम क्लिन्टनलाई गाली गर्दै आइरहेका छन् । अमेरिकामा मंगलबार राष्ट्रपतिको मतदान हुँदैछ ।