arrow

७ लाख खर्च ? : ‘पहिले दैनिक मासु आउँथ्यो, अहिले दुई दिन विराएर आउँछ, कसरी भयो होला त !’

प्रधानमन्त्रीलाई खाजा खुवाउने सप्लायर्स सुशील कोइरालाकै पालाको

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
PM-g-news-aaja.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यालय र सरकारी निवासमा भएका विभिन्न बैठकको खाना तथा खाजाको विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा भएको विवरणमा विभिन्न बैठकहरुको कुल खाना र खाजा खर्च सात लाख ३५ हजार ९ सय ९४ रुपैंया देखाइएको छ ।  

खर्चको शीर्षक विविध राखिएको छ भने विवरणमा कार्यालय तथा बालुवाटारमा भएको मन्त्रिपरिषद् तथा विभिन्न बैठकहरुको खाना खाजा खर्च भनिएको छ । यद्यपि, प्रधानमन्त्रीको स्वकीय उपसचिवले वेबसाइटमा भएको विवरण भेरीफाइ नभएको बताएका छन् ।

उनले आफुले प्रधानमन्त्रीको सचिवालयमा खाजाको रुपमा कुकिज र कालो चिया मात्रै आएको भन्दै यत्रो खर्च हुनै नसक्ने बताए । खर्च सचिवालयको मात्रै नभएर बालुवाटारमा भएका बैठक, प्रधानमन्त्री कार्यालयका बैठक र विभिन्न भेटघाटमा खर्च भएको र अघिल्लो सरकारका पालामा पनि बाँकी रहेको रकम पनि जोडिएको हुन सक्ने सुनाए । उनले भने, ‘त्यसबारे हामीले यकिन गरिरहेका छौं । सचिवालयको भन्नु हुन्छ भने दुई लाख पनि खर्च नहोला । गएको महिना समेत २ लाख ७ हजार मात्र खर्च आएको थियो । यो महिना त झन् खर्च  निकै कटौती भएको छ ।

उनले बेलिविस्तारमा भने, ‘हामीले अहिले कुकिज र कालो चिया बाहेक मुखमा हालेका छैंनौ । पहिले दैनिक मासु आउँथ्यो अहिले दुई दिन विराएर आउँछ । हामी सचिवालयमा हुनेहरुले त के खान्छौं र ? ।’ अनि यो वेबसाइटमा राखेको विवरण झुठो हो त उसो भे ? जवाफमा उनले भने, ‘हैन यो विवरण के हो भन्ने हेर्न बाँकी छ । एकै पटक विल आएर भुक्तानी पो दिइएको हो की । हामी सचिवालयको तपाईहरुलाई यकिन डेटा दिन्छौं ।’ वेबसाइटमा आएको खर्च भेरिफाइ भएको छैन ।

उनले फेसबुक स्टाटसमै भनेका छन्, ‘प्रधानमन्त्रीको सचिवालयमा खाजा भनेको कुकिज र कालो चिया हो । महिनामा ७ लाखको खाजा खान कति क्विण्टल कुकिज खानुपर्ला, हिसाब गरेर लेख्ने कि ! गणेशको जत्रै भुँडी भए पनि ७ लाखको कुकिज त अट्दैन होला नि ? ।’ भनेका छन् ।
यस्तै, प्रधानमन्त्री दाहालले कार्यालय प्रयोजनको लागि भन्दै चार लाख ५५ हजार ९ सय ३ रुपैंया इन्धनमा खर्च भएको देखाइएको छ ।

सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीसहितको जिल्ला भ्रमणमा ४९ हजार सात सय ५० खर्च भएको सार्वजनिक विवरणमा उल्लेख छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बढी खाजा लैजाने फर्मको रुपमा बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रालि छ ।

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले सुरु गरेको खर्च विवरण सार्वजनिकिकरणमा खाजा दिने फर्मको नाम अहिलेसम्म एउटै छ । यसैले सेवा दिइरहेको बताइन्छ । यस्तै, सोही खाजा फर्मले अघिल्लो केपी ओली सरकारलाई ९ महिनामा ६० लाखको खाजा दिएको थियो ।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमै सार्वजनिक हुने सबै मन्त्रालय तथा नियकायको खर्चमा सबै विवरण भने खुलाउने गरिएको छैन । यस्तै, हवाइ टिकटको खर्च एकमुष्ट देखाइएको छ । विवरण खुलाइएको छैन ।

यस्तै, कानुन आयोगले पदाधिकारी तथा कर्मचारीहरुको हवाई टिकटको रकम भुक्तानी शीर्षकमा ८ लाख ६५ हजार रुपैयाँको बिल सार्वजनिक गरेको छ । सामान्यतया कुन कार्यक्रममा को जाँदा कति खर्च भएको खुलाउनुपर्ने भएपनि आयोगले एक मुष्ट खर्च विवरण सार्वजनिक गरेको छ । आयोगले सिनर्जी ट्राभल्स प्रालिलाई भुक्तानी दिएको छ । अधिकांश मन्त्रालयले खर्च विरण सार्वजनिक गरेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ