arrow

एनएसएलमा बुटवलले काठमाडौँलाई हरायो, इलाम र धनगढी बराबरीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
nsl-football-2080-08-23.jpeg

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिंग इलामले २–२ गोलको बराबरी खेलेका छन् भने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले काठमाडौँ रेजर्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो खेलमा २–१ गोल अन्तरले पछि परेको धनगढीले खेलमा शानदार कमब्याक गर्दै आफूलाई हारबाट बचाएको थियो । धनगढीका लागि रिचार्ड अगएमांगले खेलको ६८औँ मिनेटमा र आफिज ओलावालेले खेलको ८३औँ मिनेटमा गोल गर्दै हारबाट बचाएका थिए ।

त्यसअघि खेलको पहिलो हाफको ४४औँ मिनेटमा स्पोर्टिंग इलामका लागि फोडे कामरा र ४५औँ मिनेटमा ओमार थिओमले गोल गर्दै २–० को अग्रता दिलाएका थिए ।

यो बराबरीपछि धनगढी एफसीको ४ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । समान ४ खेलमा ८ अंक रहेको पोखरा थन्डर्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ । त्यस्तै स्पोर्टिंग इलामको भने यो बराबरीपछि ५ खेलमा ४ अंक भएको छ र सातौ स्थानमा रहेको छ ।

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा बुटवल लुम्बिनीले काठमाडौँ रेजर्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ । बुटवल लुम्बिनीको जितमा स्टेफेन समिर बिनोंग र एरिक विष्टले एक एक गोल गरेका थिए भने काठमाडौँ रेजर्सका लागि एक गोल राजीव लोप्चनले गरेका थिए ।

यो जितपछि बुटवल लुम्बिनीको ५ खेलमा ७ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै काठमाडौँ रेजर्सले भने यो यस सिजनमा पहिलो हार बेहोरेको छ । 

यो हारपछि काठमाडौँ रेजर्सको ४ खेलमा ५ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ