arrow

पेरिसडाँडा ध्वस्त पार्छौँ भन्ने पूर्व लडाकुहरुलाई प्रहरीले बल प्रयोग गरी लखेट्यो

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
party_office.jpeg

काठमाडौं । निशर्त अयोग्य शब्द हटाउनुपर्ने, पूर्व लडाकुहरुले पाए सरहको दीर्घकालिन व्यवस्था गर्नुपर्ने लगायत माग राखेर माओवादी केन्द्रको मुख्यालय नै कब्जा गरेर बसेका बहिर्गमित लडाकुलाई मंगलबार मात्र प्रहरीले कार्यलयबाट हटाएको छ ।

सोमबार राति नै हटाउन प्रहरीले कयौं प्रयास गरे पनि सकेको थिएन । मंगलबार विहान प्रहरीले बल प्रयोग गरी हटाएको प्रहरी नायव उपरीक्षक नाराणप्रसाद चिमोरियाले बताए । उनका अनुसार रातीनै प्रहरीले माइकिङ र फोर्सको प्रबन्ध गरिएको थियो ।

काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी मुख्यालय भित्रबाट ताला लगाएर उनीहरुले कसैलाई छिर्न दिएका थिएनन् । सोमबार राति प्रहरीले ताला फोड्ने प्रयास गरेको थियो, ‘रातिको समयमा उनीहरुले बल प्रयोग गर्न खोजे पेरिसडाँडा नै ध्वस्त पार्ने चेतावनी दिएका थिए ।’

सरकारको नेतृत्व गरिरहेकै पार्टीको कार्यालय कब्जा हुनुले पार्टी नेतृत्वप्रति चौतर्फी असन्तुष्टी बढेको रुपमा हेरिएको छ । बहिर्गनमा परेका दुई सय बढी पूर्व लडाकुलाई पार्टी कार्यालयभित्रबाट बाहिर निकालेपछि प्रहरीले पार्टी कार्यालय नियन्त्रणमा लिएको छ ।

मूल गेटमा भित्रबाट ताला लगाएका उनीहरुले भित्र रहेकालाई बाहिर निस्कन र बाहिरबाट कसैलाई भित्र पस्नसमेत दिएनन् । रातभर उनीहरुले ड्राइफूड खाएर रात काटेका छन् । तीन महिना देखि वर्ष दिन नपुगेका बच्चाहरुसमेत बोकेर कार्यालय कब्जा गर्न पुगेका कयौं पूर्व महिला लडाकुले चिसोमै दालमोठ, चिउरा र चाउचाउमा रात काटेका छन् ।  

सरकारले अयोग्य भन्दै लडाकूहरुलाई सीमित रकम दिएर विदाई गरेकामा  उनीहरूले अयोग्य भन्ने शब्दमाथि नै आपत्ति जनाएका छन् । त्यस्तै, उनीहरूले जनसेनाहरूलाई उनीहरूले परिवर्तनको लागि गरेको योगदानको कदर गर्दै गणतन्त्रका योद्धा घोषणा गर्नु पर्ने माग समेत राखेका छन् ।

त्यस्तैगरी, पारदर्शीतामूलक र सहभागितामूलक राहतको प्याकेज दिन पनि उनीहरूले सरकारसँग माग गरेका छन् । सरकारले मुलुकलाई धेरै ढाँटेको भन्दै अब केही गरेर देखाउन पनि उनीहरूले आग्रह गरेका छन् । गणतन्त्र ल्याउनको लागि आफूहरूले गरेको योगदानको वास्ता नगरिएकामा समेत उनीहरूले आपत्ति जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ