प्रधानमन्त्रीले फेरि बाँडे आश्वासन : विपन्न, शहीद र वेपत्ता परिवारलाई तामोकोशीको सेयर
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
814
Shares
दोलखा । प्रधानमन्त्री पुष्पकलम दहालले सरकारले माथिल्लो तामाकोशी आयोजनालाई ऋणका रुपमा दिएको ११ अर्ब रकम अति विपन्न, शहीद र वेपत्ता परिवारलाई सेयरका रुपमा वितरण गर्ने प्रयास भइरहेको बताएका छन् ।
मंगलबार काठमाडौंबाट तामाकोशी जलविद्युत् आयोजना, कोशी लोकमार्ग र स्थानीय सडकहरुको स्थलगत निरीक्षणका लागि निस्केका प्रधानमन्त्री दाहालले दोलखामा सरकारी ऋणलाई सेयरका रुपमा विरतण गर्न लागिएको सुनाए ।
गएको महिना देखि राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुगमन थालेका प्रधानमन्त्री दाहालले तोकिएको समय भन्दा ६ महिना अघि नै माथिल्लो तामाकोशी आयोजनाको काम सक्न निर्देशन भने । यसअघि दाहालले सिक्टा सिंचाइ आयोजनको अनुगमनका क्रममा तोकिएको समय अघि आयोजना सक्नेलाई पुरस्कार दिने घोषण समेत गरिसकेका छन् ।
नेपालको आफ्नै लगानीमा दोलखाको लामाबगरमा निमार्णाधिन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीमा कार्यरत प्राविधिक र प्राधिकरणका कार्यकारी निर्देशकलाई प्रधानमन्त्रीले पुरस्कार पाउने र सम्मान पाउनेतर्फ ध्यान दिई गुणस्तरीय काम गर्न भने ।
हाल ८२ प्रतिशत काम सकिएको आयोजना भूकम्पका कारण डेढ वर्षपछि धकेलिएको बताइँदै छ । नयाँ समय सीमा अनुसार काम भइरहेको आयोजना २०७५ असारमा निर्माण सम्पन्न गरी सक्ने लक्ष्य लिइएको छ ।
यसैबीच, रोल्वालिङ डाइभर्सन र ८७ मेगावाट क्षमताको तामाकोशी पाँचौ निमार्ण कार्यान्वयनका लागि विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई काम थाल्न प्रधानमन्त्रीले निर्देशन दिए ।
माथिल्लो तामाकोशी आयोजनालाई नमूनाका रुपमा निमार्ण सक्न पटक–पटक कर्मचारीसँग आग्रह गरेका प्रधानमन्त्री दहालले लामाबगर लप्ची हुँदै चीन जोड्ने सडकको अध्ययन गर्न भौतिक निमार्ण तथा यातायात सचिवलाई समेत निर्देशन दिए । दाहालले राष्ट्रिय गौरवका आयोजना र अन्य महत्वपूर्ण भौतिक निर्माणको निरीक्षण आफैँ गर्ने बताउँदै आएका छन् ।