arrow

मोरङमा महानगरसहित १७ वटा स्थानीय तह, कुन ठाउँ कता ?

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
morang-news.jpeg

विराटनगर । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले मोरङमा एक महानगरपालिकासहित १७ वटा स्थानीय तह बनाउन सिफारिस गरेको छ ।

जिल्लामा रहेका राजनीतिक दलको सहमतिमा प्राविधिक सहयोग समितिले विराटनगरलाई महानगरपालिका बनाउने तथा अन्य, एक उपमहानगरपालिका ,१० नगरपालिका र ६ गाउँपालिका बनाउनका लागि स्थानीय  पुनःसंरचना आयोगमा सिफारिस गरेको हो ।

मोरङ स्थानीय विकास अधिकारी एव स्थानीय तह पुनःसंरचना सहयोग समितिका संयोजक सोभाकर रेग्मीले सबै दलको सहमतिमा प्राविधिक सहयोग समितिले आयोगलाई स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन दिएको जानकारी दिए ।  

आयोगले मोरङ जिल्लामा १२ देखि १७ वटा क्लष्टर तोकेको थियो । सिफारिस अनुसार जिल्लामा थप दुई वटा नगरपालिका तोकिएको छ । जस अनुसार हाल रहेको सात नगरपालिकालाई थप गरी रतुवामाई र मिक्लाजुङ नगरपालिका समावेश छन् ।

मधुमल्ला, इटहरा, सिजुवा, गोविन्दपुर, झुर्किया, महादेवा तथा वर्डङ्गा गाउँ विकास समितिलाई मिलाएर रतुवामाई नगरपलिका र रमिते, टाँडी र मधुमल्लाको केही भागलाई समेटेर मिकलाजुङ नगरपालिका बनाउने प्रस्ताव गरिएको छ ।

यस अघि, स्थानीय तहमा  विराटनगर महानगरपालिका, सात नगरपालिका र पाँच गाउँपालिका बनाउने गरि संख्या टुंगो लागेको थियो । समितिका अनुसार मधेसी र थारु क्लष्टर कायम गर्ने पनि प्रस्ताव गरिएको छ ।

२०६८ को जनजणना अनुसार ९ लाख ६० हजार जनसंख्या रहेको मोरङ जिल्लामा हाल एक उपमहानगरपालिकासहित सात नगरपालिका ५० गाविस छन् ।

विराटनगरमा मात्र २ लाख १ हजार जनसंख्या रहेको छ । विराटनगरलाई महानगरपालिका बनाउन आवश्यक संख्या जुटाउन सीमाना जोडिएका वैजनाथपुर र बुधनगर गाविसलाई समावेश गर्ने प्रस्ताव आयोग समक्ष पेश प्रतिवेदनमा भनिएको छ ।

महानगरपालिका बनाउन ३ लाख १५ हजार जनसंख्या आवश्यक पर्ने भएपछि अन्य छिमेकी गाविस वैजनाथपुर र बुधनगरलाई समावेश गरिएको हो । दुई गाविस जोडदा पनि हाल विराटनगरको कुल जनसंख्या २ लाख ८१ हजार पुगेको छ ।

यस्तै, हालसम्म आयोगमा ४१ जिल्लाको स्थानीय तह पुनःसंरचना प्रतिवेदन प्रतिवेदन आएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ