arrow

स्थानीय तहको सीमा सङ्ख्या निर्धारणमा थामी समाजको असन्तुष्टि

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
Dolakha-hamrakura.jpg.jpeg
दोलखा। स्थानीय तहको सीमा निर्धारणमा थामी समुदायको किपट भूमिलाई टुक्र्याएर आफूहरुको पहिचान र अस्तित्व नै मेटाउने खोजेको भन्दै नेपाल थामी समाज र थामी स्वायत्त क्षेत्र सरोकार तथा संयुक्त सङ्घर्ष समिति, नेपालले असन्तुष्टी व्यक्त गरेका छन् । सो समाज र समितिबाट सोमबार जारी संयुक्त विज्ञप्तिमा स्थानीय तह पुनःसंरचनाको निर्णयप्रति असन्तुष्टी जाहेर गर्दै अघिल्लो निर्णयलाई सच्याइ थामी स्वायत्त क्षेत्र सुनिश्चित गर्न समेत माग गरेको छ । 
 
स्थानीय तह पुनः संरचनाको क्रममा थामी स्वायत्त क्षेत्र सुनिश्चित गर्नका लागि यसअघि नै पटक÷पटक माग गर्दै आएकामा आफूहरुको मागलाई बेवास्था गरी थामी समुदायको पहिचान मेटाउने षड्यन्त्र भएको र यस्ता दुर्भाग्यपूर्ण निर्णय सच्याएर सही, वस्तुवादी र वैज्ञानिक निर्णय गर्न समेत माग गरेको छ । 
 
एउटा गाउँपालिकाभित्र थामी समुदायका लागि एउटा वडा संरक्षित क्षेत्र प्रस्ताव गर्ने र बाँकी थामी बाहुल्य किपट भूमिलाई पूर्णरुपले खारेज गर्ने कार्य बेइमानी र गैरजिम्मेवारीपूर्ण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 
पुनः संरचनाको निर्णयमा पुनःविचार गरेर थामी स्वायत्त क्षेत्र कायम नगरिए कडा सङ्घर्षमा उत्रने नेपाल थामी समाजका महासचिव लक्षमण थामी र थामी स्वायत्त क्षेत्र सरोकार तथा संयुक्त सङ्घर्ष समिति, नेपालका संयोजक जगतमान थामीद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा भनिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ