सोलिडारिटी कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
नवयुग, भरत र विमलले गरे गोल
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
1.7k
Shares
काठमाडौं । मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपमा नेपाल बलियो टोली ब्रुनाइलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
नेपालले समूह ‘ए’काे अन्तिम खेलमा ब्रुनाइलाई ३–० ले हराउँदै समूह विजेताका रुपमा सेमिफाइनल यात्रा तय गरेको हो । नेपाललाई विजयी गराउन पहिलो हाफको इन्जुरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाए ।
यस्तै, ७२औं मिनेटमा भरत खवासले गोल गर्दै अग्रता दोब्बर पारे । ८०औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै ३–० गोल अन्तरले नेपाललाई जिताए ।
आफ्नो पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेकाे थियाे । ब्रुनानाईविरुद्धको जितसँगै नेपाल ४ अंकसहित समूह ‘ए’को विजेता बनेको छ । हारे पनि ब्रुनाई समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।
यो जितसँगै नेपालले पछिल्लो समय खेलेका मैत्रीपूर्ण खेलमा देखिएको गोलविहीनतालाई चिरेको छ । प्रशिक्षक जापानी ग्यातुको कोजी आए यता नेपालको यो पहिलो शानदार जित पनि हो ।
एसियाली फुटबल महासंघ (एएफसी)ले एसियाका कमजोर फुटबल राष्ट्रहरुको लागि पहिलोपटक सोलिडारिटी कप फुटबल प्रतियोगिता आयोजना गरेको हो । यसलाई यसअघि हुँदै आएको एएफसी च्यालेन्जकपको विकल्पका रुपमा समेत हेरिएको छ ।
७ टोली सहभागी प्रतियोगितामा नेपाल, ब्रुनाई र टिमोर लेस्टे समूह ‘ए’मा रहँदा समूह ‘बी’मा श्रीलंका, मकाउ, लाओस र मंगोलिया छन् ।