arrow

अपडेटः अस्पतालमा भर्ना भएका १९ वर्षे संगम बाबु औषधि लिन गएको मौकामा भागेर बेपत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
manipal-teaching-hospital.jpg

अपडेट
पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालबाट एक जना बिरामी बेपत्ता भएका छन् । तनहुँ घर भइ हाल पोखरा महानगरपालिका वडा नं १६ लामाचौर बस्दै आएका १९ वर्षका संगम मिश्र बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिश्र मंसिर २५ गते साँझ ६ः३० बजेदेखि बेपत्ता भएको बताइएको छ । उनी बेपत्ता भएको सूचना पाएपछि प्रहरीले खोज तलास गर्नेक्रममा मणिपाल शिक्षण अस्पताल नजिकैबाट नदीपुर आउने झोलुङ्गे पुलमा बेपत्ता भएका व्यक्तिको कपडा परिचयपत्र भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार संगम मिश्र बिरामी परेपछि उपचारका लागि मणिपाल शिक्षण अस्पतालको आकस्मिक उपचार कक्षमा पुगेका थिए ।

संगमको चेकजाँच गरेपछि चिकित्सकले औषधि ल्याउन भनेपछि संगमका बुबा हरिप्रसाद मिश्र औषधि लिन बाहिर निस्किएका थिए ।

त्यही समयमा संगम अस्पतालबाट हराएको प्रहरीले सूचनामा उल्लेख गरेको छ । यस सम्बन्धमा मणिपाल शिक्षण अस्पतालले अहिलेसम्म केही जानकारी दिएको छैन ।

तीन दिन बित्दासमेत संगमको अवस्था पत्ता नलागेपछि कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं। १६ दीपस्थित ड्याममा खोजी गर्ने भएको छ ।

ड्याम खोलेर बेपत्ता व्यक्तिको खोजी गर्नुपर्ने भएकाले ड्यामभन्दा तल सेती नदीको बहाव बढ्ने सक्ने भन्दै प्रहरीले सचेत रहन नागरिकलाई आग्रह गरेको छ ।

प्रहरीले आज सूचना प्रकाशित गरी मंसिर २८ गते दिउँसो १२ बजेदेखि ४ बजेसम्म सेती नदी ड्यामभन्दा तलका नागरिक सतर्क भइ नदी वरपर नजान आग्रह गरेको छ ।

(नोट - जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना अद्यावधिक गरेपछि समाचारलाई अद्यावधिक गरिएको हो ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ