arrow

एकपछि अर्को गर्दै चिनियाँ कम्युनिष्ट नेताहरु नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
cppcc.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एकपछि अर्को गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु नेपाल आउन थालेका छन् । तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ प्रतिनिधिमण्डलसहित नेपाल आएर फर्केको करिब महिनामै चिनियाँ कम्युनिष्ट पार्टीका अर्का एक नेता आज नेपाल भ्रमणमा आउन लागेका हुन् । ‘उहाँहरु आजै ३ बजे काठमाडौ आउँदै हुनुहुन्छ’, उच्च सुरक्षा स्रोतले भन्यो । 

स्रोतका अनुसार महिना दिनमै चीनको तर्फबाट उच्चस्तरीय प्रतिनिभिमण्डलको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टी गुआङदोङ प्रान्तीय समितिको स्थायी समितिका सदस्य तथा ग्वाङ्दोङ प्रवासी मित्रताका अध्यक्ष वाङ रुइजुनले नेपाल भ्रमण गर्न लागेका छन् । 

उनी आज दिउँसो ३ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका रहेको छ । १२ बजे आउन भनिएको कार्यतालिका ३ बजेलाई सरेको हो । उनी श्रीलंकन एअरलाइन्सको यूएल १८१ नम्बरको विमानबाट काठमाडौँ आउन लागेका हुन् । 

नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूमा छ वर्षको निराशाजनक प्रगति देखिएको र एमसीसी कार्यान्वयनको चरणमा प्रवेश गरेपछि चिनियाँहरूको नेपाल भ्रमण बाक्लो हुन थालेको छ । 

उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । भेटघाटको क्रममा प्रधानमन्त्री प्रचण्डको हालै चीन भ्रमणका क्रममा भएको सहमति सम्झौता कार्यान्वयनको अवस्था लागतयका विषयमा छलफल र नेपाल र चीनका बीचको सहयोगलाई अझ सुदृढ गर्ने तरिकाहरूबारे विचार आदानप्रदान गर्ने बताइएको छ । 

नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम बनेको छ ।

 प्रचण्डपछि अन्य कुन कुन नेताहरुसँग भेटघाट हुुन्छ भन्ने बारेमा केही बताइएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेतृत्व गण नै मध्यपहाडी लोकमार्ग संकल्प यात्रा लिएर कोशी प्रदेश पुगेकाले पुस २ गते मात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । 

एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टीका नेताहरुसँगको कार्यतालिका भने चिनियाँ राजदूतावासले बनाइरहेको स्रोतले जनाएको छ । 

कम्युनिष्ट पार्टीका नेताहरुको भेटघाटमा उनीहरुले बीआरआई परियोजना कार्यान्वयनको अवस्था र परिस्थितिको विषयमा चासो राख्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ