arrow

कर्मचारीले दुई महिनादेखि पाएनन् तलब

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
Lamjung Purbadhar bikash office.jpg

लमजुङ । बेँसीसहर नगरपालिका वडा नं.८ मा रहेको पूर्वाधार विकास कार्यालय लमजुङमा लेखा अधिकृत नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् ।

कार्यालयका सूचना अधिकारी आशिष पोखरेलले दसैँ अघि लेखा अधिकृत यमबहादुर थापा सरुवा भएर अन्यत्र गएसँगै हालसम्म लेखा अधिकृत नहुँदा गत कात्तिक र यही मङ्सिरको तलब पाउन नसकेको बताए ।

यहाँ सहायक लेखा अधिकृतसमेत नभएको लामो समय भएको छ । यी दुवै पदमा दरबन्दी रिक्त हुँदा तलबका साथ साथै विल भुक्तानीसमेतमा समस्या भइरहेको उनको भनाइ छ ।

सूचना अधिकारी पोखरेलले भने, “हामीले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा दिनहुँ फोन गरेर लेखा अधिकृत पठाउन माग गरिरहेको र मन्त्रालयबाट चाँडै पठाउने आश्वासन आउँछ तर कर्मचारी आउनुहुन्न ।”

२१ जनाको दरबन्दी रहेको यस कार्यालयमा हाल १३ जना कार्यरत् रहेका छन् भने आठ जनाको दरबन्दी रिक्त रहेको छ ।

नौ तहको उपसचिव सरहको कार्यालय प्रमुख तीन वर्षभन्दा बढीबाट रिक्त हुँदा निमित्त कार्यालय प्रमुखको भरमा पूर्वाधार विकास कार्यालय सञ्चालन हुँदै आएको छ ।

दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयको काम, गुणस्तरीय योजना, स्थलगत अनुगमन गर्न, कार्यालयमा डकुमेन्ट बनाउनदेखि योजना कार्यान्वयन गर्नलाई समस्या भइरहेको निमित्त कार्यालय प्रमुख विवेक सिग्देलले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ