arrow

सत्र दिनदेखि निराहार तपस्यामा राजेन्द्र रेग्मी, संसारीमाई मन्दिरमा सीसीक्यामेराबाट निगरानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
rajendra-regmi-fasting.jpg

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ स्थित बागमती नदीको किनारमा रहेको संसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १७ दिनदेखि निराहार तपस्यारत छन् । 

महालक्ष्मी नगरपालिका–८, ललितपुरका रेग्मी १७ दिनदेखि सीसी क्यामेराको निगरानीमा पानी पनि नपिई तपस्यामा लीन भएका हुन् । गत वर्ष फागुन ३ गते सपनामा अलौकिक शक्ति प्राप्त भएको अनुभूति भएपछि पानी पनि नखाई समय बिताउँदै आएको दाबी उनले गरेका छन् । पानीसमेत नखाएको पनि आफूलाई केही फरक नपरेको, भोक नलागेको उनले जानकारी गराए । 

अलौकिक शक्ति प्राप्त भएपछि १२० केजीका रेग्मीको तौल घटेर ८० केजी भएको पनि मन्दिर परिसरमा राखिएको ब्यानरमा उल्लेख गरिएको छ । 

 मङ्सिर १४ गतेदेखि भने उनी संसारीमाई मन्दिर परिसरमा सीसीक्यामेराको निगरानीमा केही नखाई बसेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । उनको निगरानी सीसीक्यामेरा, स्थानीयवासी र प्रहरी प्रशासनले पनि गरिरहेको छ । 

निराहार व्रत बसिरहेका उनको दर्शनका लागि आउने भक्तजनको सङ्ख्या पनि मन्दिर क्षेत्रमा बढ्न थालेको छ । 
 
 निराहार तपस्यामा रहेका रेग्मीको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न सङ्घीय सांसद सन्तोष चालिसे, बागमती प्रदेशसभा सदस्य बिमल ठकुरी र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाललगायत पुगेको गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा रेग्मीसँगै काम गरेका सिग्देल सहकर्मीमा एक्कासी आएको परिवर्तनले आफू पनि आश्चर्यचकित भएको बताउँछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ