arrow

मही दिने, ढुङ्ग्रो लुकाउने संघीय नीति

पानी बिनाको माछा जस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

करोडौँ लगानीमा बनेको विमानस्थल बेकामे, वैदेशिक रोजगारमा जानेलाई प्रशासनिक कार्य गर्न काठमाडौँ धाउनुपर्ने बाध्यता

logo
नारायण वली,
प्रकाशित २०८० मंसिर ३० शनिबार
airport1.jpg

लुम्बिनी। भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पानी बिनाको माछा जस्तै बनेको धेरै भयो । शुरुदेखि नै कहिले मुआब्जा किचलो,  निर्माण कार्यमा चरम ढिलाइलगायत समस्या पार गर्दै जेनतेन निर्माणकार्य सम्पन्न भए पनि सञ्चालनमा आउन नसक्दा आमनागरिकमा निराशा छाएको छ ।

दुई चार पटक अन्तर्राष्ट्रिय उडान पनि भए । यात्रु आउने जाने पनि भए । तर नियमित उडानको टुङ्गो भएन । आउनेहरुलाई सहज भयो वैदेशिक रोजगारमा जानेहरुलाई प्रशासनिक कार्य गर्न काठमाडौँमा जानुपर्ने बाध्यता हटेन । सोही कारण करोडौँ लगानीमा बनेको विमानस्थल बेकाम जस्तै बन्यो । 

झण्डै सातबर्षमा बनेको विमानस्थल भौतिकरुपमा काठमाडौं भन्दा उत्कृष्ट मानिएपनि संघीय सरकारले ‘श्रम स्वीकृती कार्यालय, म्यापावर कार्यालय, सबै अन्तर्राष्ट्रिय एयरलाइन्स उडान, भिसा सेन्टर कार्यालय, अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्युआर सहितको खोप केन्द्रको स्थापना स्वीकृति दिएको छैन ।

विमानस्थललाई चाहिने सम्पूर्ण भौतिक प्रशासनिक कार्यालयहरु राख्नका लागि चासो नदिँदा रुग्ण जस्तै बनेको र आफूहरु दैनिकरुपमा विमानस्थलमा सरकारको खोजी गर्न दबाब स्वरुप मंसिर २२ गतेदेखि धर्ना बस्दै आएको सिद्धार्थनगर भैरहवाका स्थानीय समाजसेवी तथा व्यवसायी विनोद खरेलले बताए ।

उनले भने, 'हामीलाई सरकारले उपेक्षा गर्यो, राज्यको स्रोत र ऋण काढेर बनाएको करोडौँको संरचना सञ्चालनमा आउन सकेन । यदि बनाएर चलाउनको लागि प्रशासनिक कार्यालयहरु दिन कानूनी अड्चन थिए भने किन बनाएको ?' स्थानीयहरुको बस्ती र खेतीयोग्य जमLन मासेर बनाएको प्रतिफल यही हो ? भनेर उनले राज्यलाई प्रश्नसमेत गरे । 

विमानस्थलको अपेक्षामा पर्यटन क्षेत्रको विकासका लागि ठूलो लगानीमा बन्न थालेका होटलहरुको भविष्य अन्योलमा परेको छ । विमानस्थल सञ्चालनमा नआएपछि होटल बनाउन थालेकाहरु निर्माणाधीन काम बन्द गरेर बैंकको चर्को ब्याज तिर्न सकस परिरहेको छ ।

आधा अवस्थामै किनबेच गर्न होटल व्यवसायीहरु आन्तरिक रुपमा कदम चाले पनि आर्थिक मन्दीले कारोबार हुन नसकेको व्यवसायीहरुको भनाइ छ । विमानस्थल सञ्चालनका लागि लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद एवं एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायतलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको गुनासो छ । 

उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन हुनुपर्ने माग पत्र २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस- २०८० मूल समारोहका लागि लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए  । कांग्रेस सभापति शेरबहादुर देउवा रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनमा भैरहवा आएको अवसरमा बुझाएका थिए ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थनगर उद्योग वाणिज्य संघ रुपन्देही लगायतले विमानस्थल नियमित सञ्चालनका लागि पहल गरिदिन गरिएको आग्रहको बेवास्ता भएपछि पछिल्लोसमय विमानस्थलमै दैनिक दबाबमुलक धर्ना कार्यक्रमलाई जोड दिँदै आइएको छ ।

मंसिर तेस्रो सातातिर संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीलाई ९ बुँदे ज्ञापान पत्र बुझाउँदै शीघ्र सञ्चालनका लागि पहलकदमी चाल्न आग्रह गरे । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा), लुम्बिनी प्रदेशको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित मन्त्रालयमा छलफल पश्चात् मन्त्री किराँतीले जतिसक्दो छिटो गर्ने गरी आफू लागिपरिरहेको प्रतिक्रिया दिएका थिए ।

मन्त्री किराँतीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई पुरस्कार स्वरुप प्रत्येक उडानको पाँच लाख रुपैयाँ दिने तयारीसमेत गरेको जनाएका थिए ।

आश्वासन मात्रै पाएका रुपन्देहीबासीहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनको माग गर्दै भैरहवामा शान्तिपूर्ण र्याली गर्दै विरोध प्रदर्शन मात्रै गरेनन् भैरहवाको विभिन्न चोकमा प्रदर्शन गर्दै निरन्तर विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएका छन् ।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले सरकारले विमानस्थल बनाएर सञ्चालन नगर्नु दुःखद भएको बताउँदै भैरहवामा पूरा नहुँदै पोखरा बनाउने, पोखरा पूरा नहुँदै अर्को निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु ठूलो कमिशनको खेल रहेको बताए ।

सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले सबैको हित र समृद्धिका लागि आन्दोलनसम्म आउनु परेको बताए । २५ गतेदेखि टिकट नकाटेर सबैले सहयोग गर्न आग्रहसमेत गरेका छन् । माग पूरा नभएसम्म दबाबलाई जारी राखिने ज्ञवालीको भनाइ छ।

आन्दोलन समितिका संयोजक तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश सिपी श्रेष्ठले विमानस्थल सञ्चालन हुने खुशी छाएका बेला थप पीडा बनाएको दुःखेसो पोखे । 

नेपाल च्याम्बर अफ कमर्शका महासचिव जेपी कंडेलले सिद्धार्थ सञ्जालको आयोजनामा सबै संघ संस्थाको उपस्थिति रहेको बताउँदै विमानस्थल कुनै हालतमा पनि चल्नुपर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुलप्रसाद न्यौपानेले विमानस्थल हेरेर अर्बौँ लगानी गरेका उद्योगी व्यवसायीहरु धरासायी अवस्थामा पुग्नु राज्यको गैरजिम्मेवार कारक रहेको जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ