arrow

राष्ट्रपतिद्वारा काँग्रेस नेता सिटौला ‘जन आन्दोलन स्वर्ण पदक’बाट सम्मानित

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
krishna-sitoula-rewareded.jpeg
काठमाडौ। सर्वमान्य नेता गणेशमान सिंहको १०२ औं जन्म जयन्तीको अवसरमा पूर्व उपप्रधानमन्त्री एवं संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला सम्मानित भएका छन्। गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानले सिटौलालाई जन आन्दोलन स्वर्ण पदकबाट सम्मान गरेको हो।
 
काठमाडौं शान्ति वाटिकामा बुधबार भएको विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत नेपाली काँग्रेसका पूर्व महामन्त्री समेत रहेका सिटौलालाई सम्मान गरिएको हो। 
 
उक्त सम्मानबाट गत वर्ष स‌ंविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङ र मरणोपरान्त नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालालार्इ प्रदान गरिएको थियो । सो भन्दा  अगाडि समेत लोकतान्त्रिकआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत विभिन्न व्यक्त्रिहरुलार्इ सम्मान गरिएको थियो।
 
पदक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जनआन्दोलन र संविधान निर्माणमा नेता सिटौलाले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरिन् । उनले नेपालको प्रजातान्त्रिक आन्दोलन र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन सिटौलाको योगदान स्मरणीय रहेको बताउँदै गणेशमानले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका अतुलनीय रहेको बतार्इन।
 
यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित भएका पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङले पनि विभिन्न संवैधानिक मुद्धामा सिटौलाले प्रभावकारी भूमिका खेलेको बताए । स‌ंविधान निर्माण अघि शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन सिटौलाको उल्लेखनीय भूमिका रहेको उनको भनार्इ थियो ।  नेता नेम्वाङले तत्कालीन समयमा सिटौलाले माओवादीलार्इ जंगलबाट शान्ति प्रक्रियामा ल्याउँदा उनलार्इ माओवादीको सवारी मन्त्री भनेर कुरा काट्दापनि मुलुकको लागि त्यस्ता कुराको पछि नलागेर  शान्ति प्रक्रियालार्इ टुङ्गोमा पुर्‍याएकोमा सिटौलाको प्रसंशा पनि गरे ।  
 
 
सिटौलाले संविधान मस्यौदा समितिको सभापति हुँदा नमिलेका कतिपय मुद्दामा खेलेको महत्वपूर्ण भूमिकाको कारण संविधान आउन सफल भएको स्मरण गर्दै उनको भावीदिन उज्वल रहोस् भन्ने शुभकामना पनि व्यक्त गरे । 
 
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवानेता गगन कुमार थापाले नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणको जग हाल्नको लागि सिटौलाले खेलेको भूमिकालाई अरूसँग तुलना गर्न नसकिने धारणा व्यक्त गरे । वि सं २०४६÷४७ को आन्दोलनपछि प्रधानमन्त्री बन्नकोे लागि आएको प्रस्ताव अस्वीकार गरेको घटना स्मरण गर्दै नेता थापाले गणेशमानले देखाएको उक्त त्याग संविधान कार्यान्वयनको सन्दर्भमा सबैकालागि अनुशरणयोग्य रहेको बताए । उनले गणेशमानको त्यागको सम्मान सबै मिलेर संविधान कार्यान्वयन गरेर मात्रै गर्न सकिने धारणा व्यक्त गरे । 
 
कार्यक्रम प्रतिष्ठानका सभापति एवं सांसद् भीमसेनदास प्रधानको अध्यक्षतामा आयोजना भएको थियो । प्रतिष्ठानले आफ्नो स्थापनाकाल २०६३ देखि हरेक वर्ष गणेशमान सिंहको जन्म जयन्तीको अवसरमा जन आन्दोलन एवं राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्‍याउने लोकतान्त्रिक योद्धालाई जनआन्दोलन स्वर्ण पदकले विभूषित गर्दै आएको छ । तात्कालीन राजा ज्ञानेन्द्र प्रतिगमन विरुद्धको २०६२(६३ को संयुक्त जनआन्दोलनको संयोजकको रुपमा आन्दोलनरत दलहरुलाई नेतृत्व प्रदान गर्दै विघठित प्रतिनिधिसभालाई पुर्नस्थापित गरान सिटौलाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 
 
साथै माओवादीको १२ वर्ष लामो सशस्त्र संघर्षको कारण राष्ट्रियता र प्रजातन्त्रलाई जोगाउन र सशस्त्र आन्दोलन अन्तर्गत तत्कालिन आन्दोलनका सर्वोच्व कमान्डर एंव नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको अगुवाईमा सिटौलाकै सक्रियतामा माओवादी नेता पुष्पकमल दाहाल र कोइरालाको बीचमा भएको १२ बुँदे शान्ति सम्झौता कार्यान्वयन र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउनुमा सिटौलाले विशेष योगदान पुर्‍याएको प्रतिष्ठानको ठहर छ। 
 
२०६२(६३ को जनआन्दोलनको उपलब्धीलाई संस्थागत गर्नको लागि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न संविधान मस्यौदाको समितिको संयोजकको हैसियतले उनले गहन जिम्मेवारी निर्वाह गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ