arrow

कांग्रेसको गण्डकी प्रदेश प्रथम सम्मेलन शुरु, केन्द्रका पदाधिकारीहरु पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
congress-gandaki-povince-20.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखराको सभागृहमा भइरहेको छ । दुई दिने सम्मेलनको उद्घाटन अहिले भइरहेको हो । 

सो क्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रमुख अतिथिका रुपमा सभापति शेरबहादुर देउवा रहेका छन् भने नेता डा. शेखर कोइरालालाई विशिष्ट अतिथि बनाइएको छ । 

उक्त सम्मेलनमा उपसभापति एवं कानून मन्त्री धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला, विनोदकुमार चौधरी, दीपक गिरी, शंकर भण्डारी, प्रदीप पौडेल, अजयबाबु शिवाकोटीलगायत सहभागी रहेका छन् । 

साथै गण्डकी प्रदेशका नेताहरु, सबै जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरु रहेका छन् । 

सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाका करिब ५ सय प्रतिनिधिले भाग लिएको प्रवक्ता मधु बास्तोलाले बताएका छन् । 

सम्मेलनको पहिलो दिन पोखरा सभागृहमा उद्घाटन र भोलिपल्ट पोखरा पार्टी प्यालेस बास्तोलाथरमा बन्द सत्र हुनेछ ।

सम्मेलनमा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अवधारणा पत्र पेस गर्नेछन् ।

यस्तै, महामन्त्री किरणबाबु श्रेष्ठले संगठन प्रतिवेदन र अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले राजनीतिक प्रतिवेदन एवं कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको आर्थिक प्रतिवेदन पनि प्रस्तुत गर्ने कांग्रेस गण्डकी प्रदेश सूचना, सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख रमेश पौडेलले बताए ।

सम्मेलनले पार्टीलाई विधान बमोजिम सञ्चालन गर्न र जनतासँग जोडिने गरी नयाँ कार्यक्रम तय गर्न सहज हुने भन्दै पार्टीलाई सशक्त र गतिशील बनाउन बल पुग्ने गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ