arrow

युवा र सन्ततिको भविष्य सुरक्षित बनाउने सांसद विनोद चौधरीको लक्ष्य  

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
binod-chaudhary-2080-09-03.jpeg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोदकुमार चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य यही देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको बताएका छन् ।

कांग्रेसको गण्डकी प्रदेशको पोखरामा भइरहेको प्रथम सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मंगलबार उनले भने, ‘युवाहरूको भविष्य यहि देशमा सुरक्षित छ र उनीहरूका सन्ततिको भविष्य यही देशमा उज्ज्वल रहनेछ भन्ने स्थापित गर्न म संकल्पका साथ राजनीतिमा केन्द्रित भएको छु ।’

नेता चौधरीले भने, ‘मलाई लाग्छ, हाम्रो जिम्मेवारी यही नै हो । र, यो संकल्प पुरा गर्न सकेनौँ भने राजनीतिमा हाम्रो सान्दर्भिकतामाथि प्रश्न उठ्नेछ ।’ 

नेता चौधरीले युवाहरूको बढ्दो विदेश पलायनप्रति संवेदनशील बन्दै देशको आर्थिक नीतिमा गंभिर सुधार आवस्यक रहेकोमा जोड दिए । 

‘आज वेरोजगार युवा मात्र होइन, राम्रो रोजगारीमा रहेका युवाहरू पनि जागिर छाडेर धमाधम विदेश गइरहेका छन् । जबसम्म हामीले उनीहरू र उनीहरूका सन्ततीको भविष्य यहि देशमा सुरक्षित छ भनेर सुनिश्चित गर्न सक्दैनौँ यो प्रकृया जारी रहनेछ’, नेता चौधरीले विशेष जोड दिँदै भने, ‘ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेपाली कांग्रेसले आर्थिक विकासको नेतृत्व पनि लिन सक्छ भनेर हामीले प्रमाणित गर्नु परेको छ । र, त्यो जिम्मेवारी पूरा गर्न हामी सक्षम छौँ भन्ने सन्देश पोखराबाट दिन चाहन्छु ।’

नेपालको आर्थिक सुधारको नेतृत्व विगतमा नेपाली कांग्रेसले लिएको स्मरण गराउँदै नेता चौधरीले भने, अब फेरि दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने समय आएको छ । पार्टीले यो दिशामा वृहत गृहकार्यका साथ निर्णय लिनेछ भन्नेमा मेरो विश्वास छ ।’

आर्थिक विकास, सामाजिक रूपान्तरण र शुसासनको राजनीतिलाई मुख्य प्राथमिकता दिँदै आएका नेता चौधरीले यी विषयलाई गम्भीर रुपमा आत्मसात् गर्दै कांग्रेसले आफूलाई नयाँ पुस्ताले भर पर्न सक्ने पार्टीका रुपमा उभ्याउनुपर्ने धारणा पनि व्यक्त गरे । 

आगामी निर्वाचनमा कम्तीमा २५ लाख युवाहरू पहिलो पटक मतदाताका रुपमा भोट गर्नेछन् । उनीहरूको पहिलो रोजाई कांग्रेस बन्ने गरी अहिलेदेखि नै काम गर्नुपर्नेमा उनले जोड दिए ।

‘नेपालको १० वर्षको आर्थिक विकासको रोडम्याप के हो ? हामीले नयाँ पुस्तालाई तिम्रो भविष्य यहि देशमा सुरक्षित भनेर देखाउने आधार के हुन् ? यी बिषयमा अब हामी अलमलमा रहनु हुँदैन’, नेता चौधरीले भने, ‘हामीसँग आर्थिक विकासको प्रष्ट रोडम्याप हुनुपर्छ । राजनीतिको अबको एजेण्डा नेपाललाई विकसित देशमा पुर्याउने नै हुनुपर्छ । त्यसका लागि नीति, कार्यक्रम र कार्यान्वयन प्रणालीमासमेत गृहकार्य गर्न जरूरी छ । मलाई विश्वास छ, पार्टी नेतृत्व र समग्र पार्टी पंक्ति अब यही दिशामा केन्द्रित बनेर युवाहरूको आकांक्षालाई सम्बोधन गरिनेछ ।’ 

नेपाली कांग्रेसले अवलम्बन गर्ने आर्थिक विकासको दृृष्टिकोणले नै पार्टी संगठन र युवाहरूलाई आकर्षित गर्ने भएकाले गण्डकी प्रदेश सम्मेलनले यस दिशामा गम्भीर निर्णय गर्नेछ भन्ने विश्वास पनि नेता चौधरीले ब्यक्त गरे । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य संरचनामा अवतरण हुदा खुशी लागेको उल्लेख गर्दै नेता चौधरीले विमानस्थल खाली रहनु भने राम्रो संकेत नरहेको उल्लेख गर्दै पोखरामा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्नका लागि गम्भीर भएर लाग्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराए । 

नेता चौधरी पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ