arrow

पार्टीलाई बलियो बनाएमात्र ठूलो र शक्तिशाली बन्न सकिन्छ –देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
Sher Bahadur Deuba.jpg

तनहुँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस तनहुँले आज यहाँ आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको बताए । 
    
सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए । 

देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए । उनले भने, “पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।” 

सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे । 

उनले भने, “संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ ।”

कार्यक्रममा कांग्रेस उपसभापति एवं कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको औँल्याए । 

देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्नेमा उनले जोड दिए । 

तीन दलबीचको एकताबाट मात्र मुलुक समृद्ध हुने बताउँदै उनले भने, “विस्तृत शान्ति सम्झौतादेखि हालसम्म भएका उपलब्धि तीन दलको एकताले भएको हो । त्यो एकता अझै आवश्यक छ ।”

यसअघि सभापति देउवाले कांग्रेस तनहुँको नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।

नेपाली कांग्रेस तनुहँले निर्माण गरेको सो भवनको सभापति देउवाले शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । 

पूर्वमहामन्त्री डा शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्य शङ्कर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई लगायतको सहभागिता थियो । 

चन्दादाताबाट रकम सङ्कलन गरी भवन निर्माण गरिएको हो । करिब रु दुई करोड लागतमा भवन निर्माण गरिएको जिल्ला सभापति जितप्रकाश आलेले जानकारी दिए । 

आठ आना क्षेत्रफलमा फैलिएको भवन चारतलाको छ । सो अवसरमा सभापति देउवाले भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान पनि गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ