arrow

अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
Bagmati.jpg

चितवन । बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ ।

स्तरोन्नति भएर एक सय श्यया पुगेका अस्पतालमा स्वास्थ्यसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन् । 

यी अस्पतालमा जनशक्ति, भौतिक पूर्वाधार, उपकरणसमेत थप हुने भएपछि स्थानीयले सहज स्वास्थ्य सुविधा पाउने भएका हु्न् । 

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेशमा स्वास्थ्य मन्त्री भएपछिको सबैभन्दा महत्त्वपूर्ण निर्णय गर्न शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी गरिएको बताए । उनले भने, “प्रदेशको स्वास्थ्य र स्वास्थ्य शिक्षामा यसले फड्को मारेको छ ।”

स्वास्थ्यसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्न कम्तीमा एक सय श्ययाको अस्पताल आवश्यक पर्दछ । अस्पतालकै अभावमा धेरै स्वास्थ्यसँग सम्बन्धित शैक्षिक कार्यक्रम बन्द भइरहँदा प्रादेशिक अस्पतालमा समेत शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने भएको मन्त्री जोशीको भनाइ थियो ।

मन्त्री जोशीले भने, “अस्पतालको स्तरोन्नति भएसँगै प्रदेशमा कोही उपचारबाट वञ्चित हुनुपर्ने छैन ।” गरिबका लागि निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेशले गरेको उनको भनाइ थियो ।

यससँगै स्थायी पाँच सय ९९ र करारका एक सय ५९ दरबन्दी थप भएको उनले जानकारी दिए । उनका अनुसार यी अस्पतालमा अपुग भौतिक संरचना बन्दै जाने छन् ।

प्रदेश सरकारको पुस ३ गते बसको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार मातहत रहेका १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको थियो । जसअनुसार प्रदेश राजधानी हेटौँडाको हेटौँडा अस्पताल र भक्तपुरको भक्तपुर अस्पताललाई तीन सय श्यया बनाउने निर्णय भएको छ ।यसअघि ती दुवै अस्पताल एक सय श्यया क्षमतामा सञ्चालन हुँदै आएका थिए । 

बैठकले धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशूली, सिन्धुलीको सिन्धुली अस्पताल, चितवनको रत्ननगर बकुलहर अस्पताललाई एक सय श्यया बनाउने निर्णय गरेको थियो । 

त्यस्तै बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० श्यया बनाउने निर्णय गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ