arrow

पीएन क्याम्पसमा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप, पुन गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
Dek Pun.jpg

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गर्दै आन्दोलन चर्काएको छ । यस क्रममा कास्कीमा पनि आन्दोलन जारी छ ।

आज साँझ कास्कीस्थित पृथ्वीनारायण बहुमुखी क्याम्पसमा नेविसंघको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको छ । झडपमा परि नेविसंघका नेता तथा नेपाल मगर विद्यार्थी संघ गण्डकीका अध्यक्ष डेक पुन गम्भीर घाइते भएका छन् । उनको टाउकोको पछाडि भागमा गम्भीर चोट लागेको छ । उनको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनको टाउकोमा गम्भीर चोट लागेपछि अपरेसन नै गर्नुपर्ने देखिएकाले अपरेसनको तयारी भइरहेको नेविसंघका केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलले जानकारी दिए । पुनमाथि प्रहरीले ढुंगा प्रहार गरेर घाइते बनाएको उनले बताए । नेविसंघका कार्यकर्ताले मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गर्र्दै राँके जुलुस प्रदर्शन गरेका थिए ।

यसैबीच नेविसंघले घटनाको निन्दा गरेको छ । नेता पौडेलले जनताको सुरक्षा गर्ने प्रहरीले नै ढुंगा हानेर नेविसंघका नेतालाई घाइते बनाउनु दुःखद् भएको बताए । उनले प्रधानमन्त्रीले मन्त्री सुदन किराँतीलाई पदबाट नहटाएसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए ।

मन्त्री किराँतीले नेपाली जनताको भावनामा ठेस लाग्ने गरि गैरजिम्मेवार अभिव्यक्ति दिएकाले उनलाई एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार नभएको नेविसंघका नेता प्रयास कोइरालाले बताए ।

यस विषयमा कास्की प्रहरीले भने विद्यार्थीहरुकै पक्षबाट प्रहार भएको ढुंगा लागेर पुन घाइते भएको जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले भने, ‘उहाँहरु राँके जुलुस निकाल्दै हुनुहुन्थ्यो । प्रहरीले उहाँहरुलाई सीमित ठाउँमा मात्रै आन्दोलन गर्न दिन लाग्दा उहाँहरुले ढुंगा हान्न थाल्नुभो । एकै छिन झडपजस्तो भयो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ