प्रचण्ड–ओली एकल वार्ता : दाहालको कुरा बुझिएन भन्दै ओली ४५ मिनेटमै बाहिर निस्किए
तीन दलका शीर्ष नेताको छलफलपछि मात्रै संशोधन प्रस्ताव संसदमा दर्ता हुने
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
2.3k
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच वान् टु वान् वार्ता भएको छ । सभामुख ओनसरी घर्तीमगरको कार्यकक्ष सिंहदरबारमा भएको छलफल सकारात्मक भएपनि संविधान संशोधन प्रस्ताव संसदमा लैजानेबारे सत्ताधारी र विपक्षीको एउटै धारणा बन्न सकेन ।
छलफलले शुक्रबार बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव लैजानेबारे यकिन गर्ने अपेक्षा गरिएकामा फेरि एक पटक तीनै दलका शीर्ष नेता नबसी प्रस्ताव दर्ताको टुंगो नलाग्ने देखिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएको जानकारी अनुसार अब तीनै दलका शीर्ष नेता बसेर संविधान संशोधन प्रस्ताव संसदमा लैजानेबारे निर्णय लिनेछन् । बैठक शुक्रबार साँझ बस्ने सम्भावना रहेपनि यकिन भने भएको छैन ।
संविधान संशोधनकै विषयमा दुवै दलका शीर्ष नेता ४५ मिनेट गफिए । सिंहदरबारबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले संविधान संशोधनबारे दाहालबाट फेरि पनि प्रष्ट कुरा नआएको बताए ।
प्रधानमन्त्रीले राखेको प्रस्तावबारे ओलीले खासै चाँसो दिएका छैनन् । उनले गुनासो गर्दै भने, ‘संविधान संशोधन किन र के का लागि भन्ने विषयमा प्रधानमन्त्रीबाट प्रष्ट कुरै आएन ।’ कुरा प्रष्ट भएपछि मात्रै यसबारे थप छलफल गरौँला भनियो ।
यद्यपि, प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले प्रधानमन्त्री दाहालले प्रष्टसँगै ‘मैले कांग्रेस सभापति देउवासँग पनि कुरा गरे, मधेसी मोर्चाका साथीहरुसँग पनि कुरा गरे र अब संसदमा प्रस्ताव लान्छु । तपाईहरुले सघाउनु पर्छ’ भनेको सुनाए ।
आर्चाले भेटको भएको संवाद सुनाउँदै थपे, ‘जवाफमा ओलीले यसबारे म सकारात्मक र गम्भीर छु । अब सबै बसेर एक पटक छलफल गरौंन त भन्नु भएको थियो ।’
संविधान संशोधनका विषयमा तीन मुख्य पार्टी सहमत नभई अन्तिमसम्ममा संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गर्ने सरकारको तयारी पुरा नहुने देखिएको छ ।