arrow

वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
madhav-nepal-always-2080-09.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् । 

पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले लोकतान्त्रिक वाम शक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने बताए ।

राजनीतिलाई विचारहीन, सिद्धान्तहीन र सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी कार्यदिशा भएको बलियो लोकतान्त्रिक शक्तिले मात्रै प्रतिगमनवादीलाई हस्तक्षेप गर्न सक्ने बताए ।

अहिलेको सङ्कटलाई सामना गर्ने वैचारिक सामथ्र्य आफ्नो पार्टीसँग रहेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले भने, “वैचारिक तथा सैद्धान्तिक कार्यदिशा भएको, अहिलेको सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति भएको पार्टी नेकपा एकीकृत समाजवादी नै हो ।”  

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भूराजनीतिक दबाब बढ्दै गएकाले राष्ट्रिय हितकाविरुद्ध अनेक षडयन्त्र हुनसक्ने खतरा औँल्याए ।

राष्ट्रिय राजनीतिले एकपछि अर्को प्रतिकूलताको सामना गर्नुपरेकाले आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएको उनको भनाइ थियो । 

भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको बताउँदै अध्यक्ष नेपालले भने, “सहि राजनीतिक कार्यदिशाको खाँचो छ ।” 

उनले विद्रोहबाट जन्मेको आफ्नो पार्टी सङ्गठनात्मकरुपमा विस्तार गर्नुपर्नेमा जोड दिए ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक विकास क्रमको उच्चत्तम उपलब्धि भएको बताउँदै यसको विकल्प खोज्न नहुने बताए । 

उनले वैचारिक रुपमा निकट रहेका शक्तिलाई एकीकृत गरी सङ्गठनात्मक रुपले शक्तिशाली पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए ।

यही पुस १३ गतेसम्म चल्ने बैठकमा विधान हेरफेरका लागि नेताको सुझाव सङ्कलन गरी मस्यौदामा छलफल गरिनेछ । 

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्नुका साथै बैठकमा सङ्गठन सुदृढीकरण रणनीति तय गरिने छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ