arrow

नोबेलमा बाल कार्डियोलोजी सेवाले पूर्वका बिरामीलाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
noble-child-cardio.jpg

विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरुको लागि कार्डियोलोजि सेवा शुरु गरेयता पूर्वी नेपालका बिरामीहरुलाई आकस्मिक अवस्थामा उपचारको लागि पाउनु पर्ने कष्टबाट राहत मिलेको छ । 

१० जना चिकित्सक सहितको कार्डियोलोजी विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा. प्रतिमा यादव संलग्न भएपछि नोबेलको कार्डियोलोजी सेवा पूर्वी नेपालका सबै उमेरका बिरामीहरुको लागि भरपर्दो गन्तव्य बनेको हो ।

केही दिन अगाडि कमल गाउँपालिका वडा नं ५, झापाका ५ वर्षीय आहान माझीको जन्मजात मुटुको समस्याको बिना शल्यक्रिया उपचार भएको छ । जाँचको क्रममा मुटुमा पनि समस्या देखिएपछि झापाकै एउटा अस्पतालबाट उनलाई नोबेल पठाइएको थियो । नोबेलमा जाँचको क्रममा उनको मुटुको महाधमनी र फोक्सोतिर जाने नसा जोडिएको अर्थात् पेटेन्ड डक्टस् आर्टिरियोसस् (पीडीए) देखिएको थियो । डा. प्रतिमा यादव नेतृत्वको चिकित्सा टोलीले उनको बिना शल्यक्रिया नसाबाट छाता जस्तो सामग्री पठाएर उक्त नसा टालेको थियो ।
 
के हो पीडीए ?

डा. प्रतिमाका अनुसार यो एक जन्म जात मुटुको समस्या हो । गर्भमा हुँदा शिशुको मुटुमा रहेको महाधमनी र फोक्सोतिर गएको रगतको नसाबीच एउटा रगतको नसा जोडिएको हुन्छ । यो नसा शिशु आमाको पेटमा रहँदा नभइ नहुने नसा हो । तर शिशुको जन्म भएको ७२ देखि ९० घण्टाभित्र त्यो नसा आफै बन्द हुने गर्दछ । 

त्यो समयसम्म पनि बन्द नभएको खण्डमा १ देखि ३ महिनासम्म लाग्न सक्छ । तर त्यो समयसम्म पनि नसा बन्द नभएमा त्यसले शिशुमा रुघामार्गी लागि रहने, निमोनिया हुने, स्तन पान गर्न नसक्ने, स्वास प्रस्वासमा समस्या आउने, खाना खाँदा निधारमा पसिना आउने, खेलकुद गर्दा अन्य स्वस्थ्य बालबच्चा भन्दा बढी थाक्ने वा खेलकुद गर्न नसक्ने, उमेर अनुसारको तौल नबढ्ने लक्षणहरु देखा पर्दछ । यो समस्याको उपचार नगरिएमा फोक्सोमा रक्तप्रवाहमा दवाव बढ्दै जाने हुन्छ । मुटुको कार्य प्रणालीमा नै असर पर्न जान्छ ।

पीडीएको उपचार के हो ?
पीडीएको उपचारको सम्बन्धमा डा. प्रतिमाले दिएको जानकारीअनुसार यो समस्याको उपचार दुई प्रकारको हुन्छ । एउटा शल्यक्रिया र अर्को बिना शल्यक्रिया गरिने डिभाइस क्लोजर । शल्यक्रिया गर्दा जोखिम बढी हुने, अस्पताल बसाई धेरै लाग्ने, शरीरमा शल्यक्रियाको खत बस्ने हुन्छ भने नसाबाट छाता जस्तो सामग्री पठाइ नसा टाल्ने प्रविधि पीडीए डिभाइस क्लोजर भरपर्दो र कम खर्चिलो हुन्छ । 

डा. प्रतिमाका अनुसार बिरामीलाई ६ देखि ८ घण्टा भोको राखेर दाहिने वा देब्रे तिघ्राको नसाबाट क्याथेटरको सहायताले छाता जस्तो सामग्री पठाएर नसा टाल्ने गरिन्छ । यसरी टालिएपछि मुटुको चार ओटा कोठाहरु आफ्नो सामान्य आकारमा आउने मुटुको कार्य सामान्य गतिमा हुन थाल्छ । 

यो प्रविधिबाट मुटुको धमनीको नसा टालेको भोलिपल्ट बिरामीलाई डिस्चार्ज गर्न मिल्ने भएकाले बिरामी र बिरामीको कुरुवालाई सहज हुन्छ । यो प्रविधि अहिलेसम्म काठमाडौँमा मात्र रहेको र उपत्यका बाहिर पूर्वी नेपालमा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा रहेको डा. प्रतिमाले जानकारी दिइन्  ।

कार्डियोलोजी विभागमा उपलब्ध उपकरणहरु र अनुभवी जनशक्तिको कारण आकस्मिक सेवा, दैनिक ओपीडी र भर्ना गरी उपचार गर्ने बिरामीको संख्या उल्लेख्य मात्रामा हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ