arrow

एटीएमबाट रुपैंया निकाल्ने अर्को गिरोह फेला, पक्राउ पर्नेमा २ टर्कीश

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
ATM-chori-kanda.jpeg

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले एटीएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रूपमा रकम निकाल्ने अर्को गिरोह पत्ता लगाएको छ । टोलीले अवैध धन्दामा संलग्न दुई टर्कीश नागरिकलाई पक्राउ गरेको छ ।

उनीहरु काठमाडौँको जमलस्थित एलो प्यागोडा होटलमा पक्राउ परेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

५२ वर्षीय मुहरिम उजुन र ३२ वर्षीय सेलाहात्तिन याबरलाई ब्युरोबाट खटिएको टोलीले अत्याधुनिक कार्ड स्किमिङ डिभाइस र हिडन क्यामरा प्रयोग गरी रकम निकालेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भियुक्तबाट ३६ लाख ७५ हजार नेपाली, एक हजार सात सय युरो र एक हजार छ, सय ६० अमेरिकी डलर तथा विभिन्न एटीएम कार्ड ११३ थान, मोबाइल फोन दुई थान, एटिएम कार्डका पिन लेखिएको कागजको पाना आठ थान तथा करिब २६ लाख नेपाली  पर्ने स्वीस घडी बरामद गरिएको छ ।

पछिल्लो समय नेपालमा बुल्गेरिया, टर्की, रोमानिया लगायत देशका नागरिक पर्यटकले प्रवेशाज्ञा बनाएर नेपाल आई विभिन्न बैंकको एटीएममा पसेर रकम चोर्ने गरेको ब्युरोले जनाएको छ । सोमबार मात्र यस्तै आरोपमा तीन रोमानियन नागरिक पक्राउ परेका थिए ।

याे भन्दा पहिले २०७१ साल मङ्सिरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नेपाली २६ लाख सहित टर्कीश र चैतमा नेपाली १८ लाख सहित बुल्गेरियाली र गत साउनमा नेपाली दुई लाख ६४ हजार सहित रोमानियन पक्राउ परेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले यस्ता अपराध अब दोहोरिन नदिन पूर्वी युरोपबाट आएका नागरिकमाथि निगरानी बढाइएको तथा बैंकसँग सहकार्य गरेर प्रहरी अघि बढिरहेको जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ