arrow

नोबेलमा ईआरसीपीबाट निकालियो ७२ वर्षे बिरामीको पित्त नलीमा भएका ५० ओटा ढुङ्गा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
noble-ercp-treatment-2080.jpg

विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा केही दिन अगाडि ७२ वर्षीया र्षिया बृद्धाको पित्त नलीमा रहेको ५० ओटा जति ढुंगा बिना शल्यक्रिया मुखबाट इण्डोस्कोप छिराएर झिकिएको छ । 

खोटेहाङ्ग गाँउपालिकाकी पदमकुमारी राईको अस्पतालमा चेकजाँचको क्रममा पित्त नलीमा ढुंगा भएको पत्ता लागेपछि ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. मोहन खड्का नेतृत्वको चिकित्सा टोलीले उनको ईआरसीपी प्रविधिबाट उक्त ढुंगा निकालेको हो ।

प्रौढ उमेर दमको समस्या त्यसमाथि फोक्सो सुन्निएको र पित्त नली ढुंगाले भरिएर दुखाइयुक्त जण्डिस भएको अवस्थामा उनको पित्त नलीको ढुंगा निकाल्न चुनौती पूर्ण थियो । 

‘ढुंगाहरु धेरै भएकोले पनि एकै पटकमा सवै ढुंगा निकाल्न गाह्रो थियो । करिब ५० ओटा जति ६ देखि १० एमएमका ढुंगाहरु एकै प्रयासमा निकाल्न सफल भयौँ’, डा. मोहन खड्काले भने । विरामीको अवस्था अहिले सामान्य रहेको र डिस्चार्ज हुने क्रममा रहेको छ ।

पित्त नलीमा ढुंगा हुँदा के हुन्छ ?
डा. मोहन खड्काका अनुसार पित्त नलीमा ढुंगा भएको अवस्थामा माथिल्लो पेट अथवा दाहिने कोखाको तल धेरै दुख्ने, उल्टी हुने, जन्डिस हुन सक्ने हुन्छ ।

यदि ढुंगा नलीमा नै अड्केर बस्यो भने त्यहाँ संक्रमण हुन सक्ने र संक्रमण बढदै गएमा शरीरको अन्य भागमासमेत संक्रमण सरेर एक भन्दा बढी अंगहरु बिग्रने (मल्टिपल अर्गन फेलियर) हुन सक्छ । त्यस्तै पित्त नली र प्याङ्क्रियाजको नलीको अन्तिम मुहान् एउटै हुने र त्यहाँ गएर ढुंगा अड्किएमा प्याङ्क्रियाजको संक्रमण भइ प्याङ्क्रियाटाइटिस हुन्छ ।
 
के हो त ईआरसीपी प्रविधि ?
पित्त नलीको ढुंगा निकाल्न पेट चिरेर शल्यक्रिया गर्ने गरिन्थ्यो । प्रविधिको विकाससँगै ल्यापारोस्कोपिक विधि शुरु भएपछि पेटमा ठूलो चिरा लाएर शल्यक्रिया गर्नु पर्ने बाध्यता रहेन । 

तर पित्त नली भित्रको ढुंगा निकाल्न नली चिर्नै पर्ने हुन्छ । ईआरसीपी विधिमा मुखबाट इण्डोस्कोपको सहायताले सानो तारसँगै बेलुन छिराएर पित्त नलीसम्म पुगी ढुंगा तानेर आन्द्रामा निकालिन्छ र ढुंगा दिसाबाट बाहिर निस्कने गर्दछ । 

पित्त नली अथवा आन्द्राको क्यान्सर तथा प्याङ्क्रियाजको क्यान्सरको कारणले पित्त नली साँघुरिएको हुन सक्छ त्यस्तो अवस्थामा पनि यो प्रविधिबाट स्टेण्ट छिराइ साधुरिएको स्थानमा राख्ने गरिन्छ र साँघुरिएको भाग खुल्ला बनाइन्छ । 

ईआरसीपी प्रविधिले रोगको पहिचान र उपचार दुवैमा फाइदा पुर्याउँदछ । हामीलाई पित्तथैलीको पथरिया र पित्तनलीको पथरिया एउटै हो जस्तो लाग्छ । तर पित्तथैलीको पथरिया र पित्तनलीको पथरिया फरक–फरक हो । ईआरसीपी प्रविधि पित्तनलीको पथरियाको उपचारको लागि प्रयोग हुन्छ ।

ईआरसीपीका फाइदाहरु
पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने हुन्छ । तर यसमा कतै चिर्नु नै नपर्ने भएपछि चाँडो निको हुन्छ र संक्रमणको खतरा पनि हुँदैन, अस्पताल बसाई छोटो हुने हुँदा ईआरसीपी विधि बिरामीका लागि निकै सहज र फाइदाजनक मानिन्छ ।

नेपालका केही अस्पतालहरुमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले पूर्वी नेपालमै पहिलो पटक २०७५ सालबाट प्रयोगमा ल्याएको थियो । 

तर कोरोनाको महामारी फैलिएपछि यो सेवा अवरुद्ध भएको थियो । कोरोनाको प्रभाव हट्दै गएपछि पुनः चालु भएपछि यो प्रविधिबाट उपचार गर्ने बिरामीहरुलाई काठमाडौँ वा टाढा जानु पर्ने बाध्यताको अन्त्य भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ