arrow

फारवेष्ट पशुपति कपको उपाधि स्टार सिटीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
farwest-pashupati-cup-2080.jpg

धनगढी । एनआरएनए छैटौँ फारवेष्ट पशुपति कप २०८० फुटबलको उपाधि स्टार सिटी युवा क्लब धनगढीले जितेको छ । पुस १४ गते शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा इलाइट युवा क्लब कैलारी गाउँपालिका वडा नम्बर ६ वनकट्टालाई ३–२ ले हराउँदै लगातार दोस्रो पटक स्टार सिटी च्याम्पियन भएको हो । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा पहिलो हाफमा चार गोल भएको हो भने दोस्रो हाफमा एक गोलमात्रै भएको हो । 

पहिलो हाफको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्टार सिटीले अग्रता बनायो । इलाइटका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई क्षितिज भण्डारीले गोलमा परिणत गरे । पहिलो हाफकै २६ मिनेटमा इलाइटले खेल बराबरीमा ल्यायो । स्टार सिटीका खेलाडीले डिबक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई इलाइटका विदेशी खेलाडी नोग्नाउ नोग्नाउले गोल गरे । 

१–१ को बराबरीमा रहेको अवस्थामा पहिलो हाफकै ३९ औँ मिनेटमा इलाइटका विनोद केसीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । तर त्यो अग्रता ३ मिनेटभन्दा बढी समय टिक्न सकेन । पहिलो हाफको ४१ औँ मिनेटमा स्टार सिटीका लागि प्रदीप लामाले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । 
 
पहिलो हाफमा बराबरी भएको अवस्थामा दोस्रो हाफको २२ औँ मिनेटमा प्रदीप लामाले व्यक्तिगत दोस्रो गोल गर्दै स्टार सिटीलाई अग्रता दिलाए । त्यसपछि कुनै पनि टीमबाट गोल हुन नसकेपछि स्टार सिटी दोस्रो पटक च्याम्पियन बनेको हो । 

स्टार सिटीलाई च्याम्पियन बनाउन फाइनलमा दुई गोल गरेका प्रदीप लामा म्यान अफ द म्याच भए । उनले नगद ५ हजार प्राप्त गरेका छन् । च्याम्पियन भएसँगै स्टार सिटीले नगद ५ लाख प्राप्त गरेको छ । पहिलो सहभागीतामै उपविजेता बनेको इलाइटले नगद २ लाख रुपैयाँ पाएको छ । 

प्रतियोगिताका अधिकांश विधामा स्टार सिटीले कब्जा जमाएको छ । स्टार सिटीका प्रदीप लामा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बने । उनले नगद २५ हजार प्राप्त गरे । स्टार सिटीका अमानत सेख उत्कृष्ट गोलरक्षक, कुवेर सिंह सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे । स्टार सिटीकै निलेश बिष्ट उत्कृष्ट प्रशिक्षक भए । उनले नगद १० हजार पाए । इलाइटका चेतन थारु उत्कृष्ट रक्षक बने । उनले पनि नगद १५ हजार प्राप्त गरे । आयोजक फारवेष्ट पशुपति युवा क्लबका सुशिल विश्वकर्मा उदयमान खेलाडी बने । उनले नगद १५ हजार प्राप्त गरे । 

च्याम्पियन बनेको स्टार सिटीका कप्तान कुवेर सिंहले आफ्नो टीमले अघिल्ला खेलहरु जस्तै तालमेल मिलाएर खेलेका कारण च्याम्पियन भएको बताए । स्टार सिटीका प्रशिक्षक निलेश बिष्टले टीमको रणनीतिअनुसार नै खेलेर उपाधि जितेको बताए । उनले आफ्ना खेलाडीहरुले शतप्रतिशत दिएर खेलेको बताए । 

पहिलो पटक फारवेष्ट कपमा सहभागीता जनाएर उपविजेता बनेको इलाइट क्लबका कप्तान योहन्ना चौधरीले आफूहरुले राम्रो खेलेको भए पनि भाग्यले साथ नदिएको बताए । उनले पाएका मौकाहरुबाट गोल नहुँदा टीम पराजित भएको बताए । 

प्रशिक्षक अमर चौधरीले दिन आफ्नो पक्षमा नरहेको भन्दै राम्रो खेल्दा पनि उपाधि जित्न नसकेको बताए । उनले आशा गरिएका खेलाडीले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको स्वीकारे । 

विजयी खेलाडीहरुलाई एक समारोहबीच पुरस्कार वितरण गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह, विशिष्ठ अतिथि गैर आवासीय नेपाली संघका मुख्य कार्यकारी अधिकृत राजेन्द्रकुमार रावत लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । 

प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको थियो भने मुख्य प्रायोजकमा एनआरएनए रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ