arrow

बालकुमारी घटनाको छानबिन गर्न पौडेलको अध्यक्षतामा उच्च स्तरीय जाँचबुझ आयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
eps-agression-2080-09-13-(1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान लिएको गत शुक्रबारको घटनाको छानबिन गर्न पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । 

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गरेको हो । बैठकले पौडेलको नेतृत्वमा पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोकेको छ । 

आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । आयोगले आजैदेखि काम थाल्ने जनाइएको छ । 

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले घटनामा भएको मानवीय, भौतिक लगायतका अन्य क्षतिको विवरण अध्ययन विश्लेषण गर्ने, उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमी कमजोरी पहिचान गर्ने, बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गर्ने र दोषी देखिएको जो कोहीलाई पनि कारबाहीको सिफारिस गर्ने जानकारी दिइन् ।

उनले आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझावहरू पेस गर्ने गरी आयोगले थाल्ने उनको भनाई थियो । 

उक्त घटनाको छानविनका लागि गृह मन्त्रालयले यसअघि पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो । आयोगले आजैबाट गृहमन्त्रालयसँग समन्वय गरी कार्यआरम्भ गर्ने भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ