arrow

बालकुमारी प्रकरण

सुरक्षा निकायले सडक अवरोध भएको जानकारी गराएन – मन्त्री ज्वाला

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
prakash-jwala-2080-09-16.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताएका छन् । 

मन्त्री ज्वालाले गत शुक्रवार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले सो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताएका हुन् । 

गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले प्रदर्शन गरेका थिए । 

प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरी हस्तक्षेपका कारण दुई जना युवाको ज्यानसमेत गएको थियो । 

सोही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रिय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिनपनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताए । 

उनले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरु बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भए पनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको स्पष्ट पारे । 

आफूहरुलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उनको भनाइ छ । 

मन्त्री ज्वालाले घटनाप्रति आफू दुःखी रहेको भन्दै दुःख पनि व्यक्त गरे । उनले घटनामा आफूहरुको कुनै सम्बन्ध नभएको पनि उल्लेख गरे । 

आफूहरु निर्दोष हुँदाहुँदै पनि आरोपित गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । 

उनले आफूहरु नै पीडित पक्ष भएको भन्दै सुरक्षाकर्मीहरुको कमजोरीलाई आफूहरुतिर थोपरिएको आरोप लगाए । (नानबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ