arrow

विजोग नारायणघाट बुटवल सडकखण्डको

बयालीस महिनामा सक्नुपर्ने सडक साठी महिनामा पनि सकिएन, समय अझै थपियो

प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीको निर्देशन, निर्माण कम्पनीको कामको गति मिचाहा

logo
सन्जय भट्टराई,
प्रकाशित २०८० पुष १९ बिहिबार
narayanghad-butwal-road.jpg

कावासोती । ४२ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएर २०७५ को चैत महिनामा शिलान्यास भएको नारायणघाट बुटवल सडकखण्डको विस्तारको काम निकै सुस्त गतिमा चलेको छ ।

दुई पटकसम्म आयोजनाको म्याद थपिएको भए पनि सडक आयोजनाको पूर्वी खण्डमा मात्रै ४४.६२ प्रतिशत काम सम्पन्न भएको आयोजनाका पूर्वी खण्डका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए ।

पछिल्लो पटक गत साउनमा आयोजनाको पूर्वी खण्डलाई भदौ ११ बाट लागू हुने गरि ३३० दिनको म्याद थप गरिएको भए पनि थपिएको समयमा काम नसकिने देखिएको हो । थपिएको समय भदौ ११ देखि चार महिनाको अवधिमा आयोजनाको निर्माण कम्पनीले मात्रै ६.६२ प्रतिशत मात्रै काम सम्पन्न गरेको हो ।

झाका अनुसार हालसम्म आयोजनाको पूर्वीखण्डमा कतै दायाँ र कतै बायाँ गरेर एकतर्फी १९.८८ किलोमिटर कालोपत्रको काम सकिएको छ । पूर्वी खण्डको ६४.४२ किलोमिटरमध्ये २४.३ किलोमिटर सडकमा बेस कोर्ष (कालोपत्रको तयारी) सकिएको २ सय १५ कल्भर्टमध्ये १२५ ओटाको काम सकिएको, २२ ओटा साना पुलमध्ये १९ ओटाको काम सकिएको, एउटामा काम भैरहेको र दुईटाको काम बाँकी रहेको झाले बताए ।

उनका अनुसार पूर्वीखण्डको १२ ठूला पुलमध्ये ३ ओटामा काम सकिएको, ८ ओटाको सबस्टक्चरको काम सकिएको र एउटा पुलको काम शुरु नै भएको छैन ।

आयोजनाको निर्माण कम्पनीले सरकारसँग गएको साउनमा २ वर्षको म्याद थप मागेको भए पनि मात्रै ३३० दिन पाएको थियो । थपिएको समयमा काम सम्पन्न हुन प्रतिमहिना ७ प्रतिशतको हाराहारीमा काम गर्न पर्ने हुन्छ । तर निर्माण कम्पनीको कामको गति प्रति महिना २ प्रतिशतको हाराहारी छ ।

सरकारले आयोजनाको समय आगामी २०८१ को साउनसम्म दिएको भए पनि आयोजना निर्माण कम्पनीले २०२५ को फेब्रुअरी सम्ममा ९५ प्रतिशत काम सम्पन्न गर्ने गरी कार्ययोजना बनाएर काम गरेको पूर्वी खण्डका म्यानेजर झाले बताए ।

गएको मंसिर ३० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समयमै काम सम्पन्न गर्न र चालु सडकको उचित मर्मत संभार तथा निर्माणाधीन सडकको एकतर्फको दुई लेन सडक निर्माणलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएका थिए ।

आयोजनामा भएको ढिलाईका कारण सर्वसाधारण समस्यामा परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत पुस २ गते प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट आयोजनाको अवलोकन गरी समयमै काम सम्पन्न निर्देशन दिँदै निर्माणको क्रममा कुनै प्रकारको समस्या भए सरकारले सहजीकरण गर्ने बताएका थिए ।

हालै समयमै काम सम्पन्न गर्न दबाब दिन रास्वपाका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणघाटदेखि बुटवल सम्मको पैदल यात्रा गरेका थिए ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त पश्चिम भ्रमणका क्रममा हरेक जिल्लामा यो सडकका बारेमा गहिरो चासो राखेका थिए । 

त्यो बाहेक स्थानीय रुपमा राजनीतिक दल, दलका नेता, जनप्रतिनिधि सबैले पटक पटक समयमै आयोजना सम्पन्न गर्न निर्माण कम्पनीलाई बारम्बार ताकेता गरेको भए पनि निर्माण कम्पनीले २०२४ को जुलाईसम्म ७५ प्रतिशत र २०२५ को फेब्रुअरीमा ९५ प्रतिशत काम सम्पन्न गर्ने कार्ययोजना बनाएर काम गरेको छ ।

प्रधानमन्त्री, विभागीय मन्त्री, राजनीतिक दल, जनप्रतिनिधि सबैले समयमै काम सम्पन्न गर्न ताकेता गरेको भए पनि आयोजनाको दुई पटक म्याद थप भएको र चालु आर्थिक वर्षको अन्तिमसम्म ७५ प्रतिशतको हाराहारीमा काम गरेर निर्माण कम्पनी फेरि म्याद थप गराउने तयारीमा रहेको देखिन्छ ।

२०७५ साल पुस ४ गते सम्झौता भएर २४ माघ २०७५ मा कार्यादेश पाएको आयोजनाले २२ साउन २०७९ मा काम सम्पन्न गर्नु पर्ने भए पनि समयमा काम नसकिएपछि १२ भदौ २०८० मा पहिलो पल्ट र ८ साउन २०८१ मा दोस्रो पटक आयोजनाको काम सम्पन्न गर्ने शर्तमा म्याद थपिएको थियो ।

सम्झौता अनुसार आयोजनाको पूर्वी खण्डको ६४.४२ किलोमिटरमध्ये शहरी क्षेत्रको १७.६ किलोमिटर ६ लेन, ग्रामीण क्षेत्रको ४२.७ किलोमिटर ४ लेन र दाउन्ने पहाडमा ३.१ किलोमिटर ३ लेनको सडक बन्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ