arrow

अस्थिरताको पराकाष्ठा

प्रचण्डले गठबन्धनको काँध फेरेको दुई महिनामै वैकल्पिक सरकारको चर्चा, रवि पनि कारक

सुदूरपश्चिम सरकार विश्वासको मत नलिँदै धरापमा, जीबीलाई पक्राउ नगर्दा रविको नियत खुल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २२ शनिबार
gathabandhan-80-12-03.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गठबन्धनको काँध फेरेको दुई महिना पुग्दै गर्दा वैकल्पिक सरकारको चर्चा शुरु भएको छ । नेकपा एमालेसँग नेकपा एकीकृत समाजवादीको दूरी बढ्दै गएपछि वैकल्पिक सरकारको बारेमा चर्चा शुरु भएको हो ।  

फागुन २१ पछि सत्तामा सँगै रहेका दुई दलबीच दूरी दिनदिनै बढेको छ । जसले गर्दा सुदूँरपश्चिम प्रदेश सरकार धरापमा परेको छ । विश्वासको मत नलिदै यो सरकार धरापमा परेको हो । एमालेले नेकपा एसलाई तत्कालै विश्वासको मत नदिने भएसँगै संघीय सरकारमात्र होइन प्रदेश सरकारको आयु पनि कमजोर हुने खतरा बढिरहेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने सन्दर्भमा दोस्रो पटक शनिबार बोलाइएको बैठक पनि स्थगित भएपछि नेकपा एस अहिलेको गठबन्धनमा रहने वा नरहने भन्ने दोधारमा रहेको छ ।

नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारबारे पार्टीले कुनै निर्णय नगरेको बताए । ‘सकेसम्म यही गठबन्धन कायम रहोस भन्ने हाम्रो चाहना छ, तर सत्ताका दुई खेलाडी दलहरुले अन्य दललाई अवमूल्यण गर्ने थालेका छन् यसको परिणाम सकारात्मक हुँदैन भन्ने हाम्रो विश्लेषण छ’, प्रचार विभाग प्रमुख खतिवडाले भने । 

सुदूरपश्चिममा सोडारीलाई पहिलेबाट नै एमालेले असहयोग गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस १९ सिट,  माओवादी ११ सिट, एमाले ९, नागरिक उन्मुक्ति पार्टी ७ सिट, नेकपा एकीकृत समाजवादी ४, राष्ट्रिय प्रजातन्त्र पार्टी १, स्वतन्त्र १ सिट छ । 

नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक हुन्छ । यदि एमालेले सहयोग नगरे सोडारीले विश्वासको मत पाउने छैनन् । यतिबेला सुदूरपश्चिममा एमालेले एक सिट थप गरेको छ ।  
यो घटनाक्रमले गठबन्धनमा दरार उत्पन्न भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदमा गृहमन्त्री रवि लामिछानेविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेको छ । 

गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सर्वसाधारण बचतकर्ताको अर्बौं ठगेर फरार भएपछि उनकै साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनै पर्ने कांग्रेसको अडान छ । 

मलेसियामा लुकेका जीबीलाई नेपाल ल्याउन गृहमन्त्री रवि तयार नभएको कांग्रेसको आरोप छ । उनी तयार भएको भए इन्टरपोल लगाएर पनि ल्याउन सकिने थियो । प्रहरीले उनको निर्देशन कुरेर बसेको छ । जीबी पक्राउ पर्नासाथ आफू पनि तानिने भन्दै रवि जतिसक्यो बढी यो विषयलाई लुकाउन खोजिरहेका छन् । 

रविको छानबिनका लागि संसदीय समिति बनाउन सत्तारुढ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपाका नेता तयार छैनन् । 

यस्तो परिस्थितिमा नेकपा एसले सत्तागठबन्धनसँग निहुँ खोजेपछि प्रचण्ड र ओलीले पटक–पटक छलफल गरे पनि निचोडमा पुगिसकेका छैनन् । सत्ता गठबन्धनभित्र किचलो र विवादकाबीच मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले विश्वासको मत पाउने सम्भावना क्षीण हुँदै गएपछि नेपाल सरकार बाहिर रहने गरी पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेको स्रोतको दाबी छ । 

उता शनिबार नै प्रधानमन्त्री प्रचण्डले आफ्नो संसदीय दलको बैठकमा तत्कालै गठबन्धन भत्कने सम्भावना नरहेको बिफ्रिङ गरेका थिए । शनिबार पार्टी संसदीय दलको बैठकमा समसामयिक राजनीतिबारे चर्चा गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले सो कुरा बताएका थिए । 

पछिल्ला केही दिनयता गठबन्धन भत्काउने गरी प्रयास भएको भए पनि अहिले तत्काल कुनै समस्या नआउने उनले बैठकमा भनेका थिए । 

‘गठबन्धन भत्काउन सकिन्छ कि भनेर केही व्यक्तिहरू लागेका छन्,तर, अहिले कुनै समस्या आउँदैन,’ उनले संसदीय दलको बैठकमा भनेका थिए । दुई दिनअघि माधव नेपालले पनि गठबन्धन मोड्दा घुम्तीबाट दुर्घटना नहोस् भन्नेतर्फ सजग रहेको बताएका थिए । 

तर यी सबै घटनाक्रमले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्दादेखि चिँढिएको एमाले र नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक तिक्तकाका कारण एक महिनामै सोडारीको बहिर्गमन हुने सम्भावना बढ्न थालेपछि माधव नेपालले सहजतका लागि सरकारबाट बाहिर रहने प्रयास गरिरहेको स्रोतको दाबी छ । 

यतिमात्र होइन केही दिन यता शीर्ष तहमै आरोप प्रत्यारोप पनि चल्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै पूर्व महासचिव रहेका माधव नेपालबीच आरोप प्रत्यारोपले पनि परिस्थिति जटिल बन्दै गएको छ । कुनै पनि प्रचण्डले गठबन्धनमा अर्को उथलपुथल आउछ भन्ने अभिव्यक्तिलाई माधव नेपालले उथलपुथल ल्याउने नेता प्रचण्डमात्र नभएको टिप्पणी गरेका थिए । 

त्यसको लगत्तै माधव नेपालले ओली लक्षित पनि टिप्पणी गरेका थिए । ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थालेको छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । 

पोल्ने मान्छेहरु पनि छन् यो समाजमा, पोले पोलेस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकुल बनाउने कुरामा ध्यान जानुपर्छ, नेपालले ओली लक्षित टिप्पणी गर्दै बैशाख १७ मा यस्तो टिप्पणी गरेका थिए । 

त्यसको जवाफमा ओलीले शनिबार मात्रै ‘अहिले पनि तपाईंहरुले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर पर्या छ, पोल्या छ भत्भत् भनेर कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ, उनलाई आफैँलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने । अरुले मन पराएका छैनन् भन्ने कस्तो नथापाको’, भन्दै नेपाल लक्षित टिप्पणी गरेका थिए । 

‘मलाई अचम्म लाग्छ, किन त्यस्तो हतार छ रु कसले रिस गर्यो ? किन रिस गर्यो ? हामी अहिले एउटा अभियानमा छौँ, यो देश प्रधानमन्त्री हुनमात्रै हो, प्रधानमन्त्री हुन हर्याकहर्याक दमको बिरामीले जस्तो गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन् । मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔँ भनेर । मैले भनेँ, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्यो’, ओलीले शनिबार मात्रै यस्तो अभिव्यक्ति दिएपछि समस्या सुल्झिन्छ भन्नेमा नेकपा एसका नेताहरुलाई लागेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ