arrow

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
jayashankar-prachanda-2080-.jpg

काठमाडौँ । भारतीय विदेश मन्त्री डा एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । नेपाल भ्रमणका लागि आज बिहान आएका जयशंकरले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन् । 

सो क्रममा दुई पक्षीय हितका विषयमा छलफल भएको छ । यसअघि जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । दुई दिने भ्रमणका लागि बिहान नेपाल आएका जयशंकरले भेटघाटको शुरुआत राष्ट्रपति पौडेलसँगबाटै गरेका थिए । 

उनी आफ्नो टिमसहित राष्ट्रपति भवन शितलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन् । सो क्रममा परराष्ट्र मन्त्रालयको टोली पनि रहेको थियो । 

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका जयशंकरसँग राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिए । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिएका थिए । 

उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरेका थिए । 
 
सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरेका छन् । 

यसअघि उनलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपीपी साउदले स्वागत गरेका थिए । सो क्रममा परराष्ट्र सचिव सेवा लम्साल पनि साथमा रहेकी थिइन् ।

होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउदसँग द्धिपक्षीय भेटवार्ता भइरहेको छ ।

लगत्तै १ः१५ बजेबाट त्यहाँ दुवै देशका मन्त्रीस्तरीय बैठक शुरु हुनेछ भने १ः४५ बजे विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

सो सम्झौतापछि विदेश मन्त्री जयशंकरले विभिन्न दलका नेताहरुसँग राजनीतिक भेटवार्ता गर्नेछन् । जसअनुसार ३ः४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटर्वार्ता हुनेछ । 

४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता हुने जनाइएको छ । साँझ ६ः१५ देखि सोल्टी होटलमा विदेश मन्त्री जयशंकरको सम्मानमा आयोजित रात्रिभोजमा सहभागी हुने जनाइएको छ । 

आज दिनभर औपचारिक कार्यक्रममा ब्यस्त रहे पनि भोलि भने भारतीय विदेश मन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन् । 

जसअनुसार भोलि बिहान पशुपतिनाथको दर्शन गर्नेछन् भने उनले पुनःनिमार्ण भइरहेका भवनहरुको निरीक्षण गर्नेछन् । 

दुई दिने नेपाल भ्रमणमा आउने विदेश मन्त्री जयशंकर भोलि मध्यान्ह १२ बजे स्वदेश फर्कने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ