arrow

देउवा, ओली र नेपालसँग जयशंकरको भेट, आज फर्कँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
jayashankar-deuba-oli-nepal.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भारतीय विदेश मन्त्री डा एस जयशंकरले छुटाछुटै भेटवार्ता गरेका छन् । 

देउवासँग बिहीबार यहाँ भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । 

भेटमा दुई देशबीच सदियौँदेखिको सम्बन्ध र घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपालको विकास निर्माणमा सहयोग अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै ओलीसँगको भेटको अवसरमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । 

अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध गरे । 

“भारत नेपालको मित्र भएकाले कतिपय विषयका समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ,” अध्यक्ष ओलीलाई उद्धृत गर्दै विभाग प्रमुख भट्टराईले भने। 

यता नेपालसँगको भेटमा आफूहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।  

नेपालको विकासका समस्या समाधानका लागि सहकार्यका सम्भावित क्षेत्र एवं द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन् । 

जयशंकरले  भ्रमणका क्रममा बिहीबारै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

 उनी भ्रमण सकेर आज स्वदेश फर्कने कार्यक्रम छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ