arrow

ललितपुरमा सात तह प्रस्ताव

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
Lalitpur-hamrakura.jpg.jpeg
ललितपुर । दलहरुका बीचमा सहमति हुन नसकेपछि जिल्लास्तरको स्थानीय निकाय पुनःसंरचना प्राविधिक समितिले सात तहको प्रस्तावित खाका स्थानीय निकाय पुनःसंरचना आयोगलाई पठाएको छ । एक महानगरपालिका, एक उपमहानगरपालिका, दुई नगरपालिका र चारवटा गाउँपालिकासमेत गरेर सात तह प्रस्ताव गरिएको जिल्ला विकास समितिले जनाएको छ । 
 
स्थानीय निकाय पुनःसंरचना आयोगले तोकेको अन्तिम मितिसम्म सहमति हुन नसकेपछि प्राविधिक समितिले नै सो खाका पठाएको हो । दलहरुले भने दलको भूमिकालाई बेवास्ता गरेको आरोप लगाउँदै समितिले पठाएको खाकाप्रति असन्तुष्टि जनाएका छन् । 
 
जिविसले केन्द्र पुल्चोक नै रहने गरी हालको ललितपुर उपमहानगरपालिकालाई ३० वडा बनाएर महानगरपालिका प्रस्ताव गरेको छ । प्रतावित खाकामा गोदवारी नगरपालिका र महालक्ष्मी नगरपालिका समायोजन गरेर महागोदावरी उपमहानगरपालिका प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको केन्द्र सिद्धिपुर पानीट्याङ्की हुने प्रस्ताव गरिएको छ । 
 
यस्तै केन्द्र छम्पीमा रहने गरी बज्रविनायक नगरपालिका प्रस्ताव गरिएको छ । बज्रबाराही नगरपालिका र कार्यविनायक नगरपालिकामा देवीचउर गाविससमेत मिलाएर सो नयाँ नगरपालिका प्रस्ताव गरिएको हो । 
 
प्युटार, आश्राङ, गिम्दी र ठूला दुर्लुङ रहने गरी बागमती गाउँपालिका प्रस्ताव गरिएको छ । यो गाउँपालिकाको केन्द्र सुवाने बेसीमा राख्न भनिएको छ भने दक्षिण पूर्वमा पर्ने पाँच गाविसलाई समेटेर बन्न लागेको महाँकाल गाउँपालिकाको केन्द्र गोटीखेलमा राख्न प्रस्ताव गरिएको छ । गोटीखेल, बुखेल, मानिखेल, चन्दनपुर, कालेश्वर गाविस यस गाउँपालिकामा पर्नेछ । 
 
तामाङ जाति संरक्षित केन्द्रका रुपमा प्रस्ताव गरिएको कोन्जेसोम गाउँपालिकामा नल्लु, भारदेउ, चौघरे दलचोकी र शङ्खु गाविस परेका छन् । सो गाउँपालिको केन्द्र चौघरेको नामले चौर केन्द्र प्रस्ताव गरिएको छ । भटेडाँडा केन्द्र रहनेगरी घुसेल, माल्टा, भट्टेडाँडा र इकुडोल गरेर चार गाविसलाई खानीखोला गाउँपालिका प्रस्ताव गरिएको छ । 
 
नौवटा तहसम्म प्रस्ताव गरिएकामा पछिल्लोपटक सात तह प्रस्ताव गरिएको सूचना शाखामा कार्यरत सावित्री बजगाईंले बताइन् । उनले भनिन्  – “पहिले गाविसका वडा छुट्याएर पठाइएको भए पनि पछिल्लोपटक पठाइएको प्रस्तावमा कुनै पनि गाविस टुक्र्याइएको छैन ।” 
 
दलहरुका बीचमा घुसेल र देवीचउर गाविसको विषयमा विवाद रहेको थियो । यी दुई गाविसलाई गाउँपालिकामा राख्नुपर्ने नेपाली काँग्रेसले बताउँदै आएको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भने नगरपालिकामा राख्नुपर्ने बताउँदै आएका थिए । 
 
एमाले उपाध्यक्ष श्याम कृष्ण सिलवालले दललाई बेवास्ता गरेर प्राविधिक समितिले प्रस्तावित खाका पठाएको आरोप लगाए । उनले भने – “हामीले कम्तीमा आठवटा तह बनाएर पठाउँभन्दा सातमात्रै पठाएको छ । घुसेल उपत्यकामा पर्ने भएकाले गाउँपालिकामा राख्न नहुने उनि बताउछन् । उपत्यकाका सबै गाविसलाई नगर बनाउने राज्यको नीति छ ।” 
 
नेकपा (माओवादी केन्द्र)का जिविस प्रतिनिधि राम आचार्यले दलहरुसँग सहमति नभएकाले सात तह प्रस्ताव भएको बताए । नगरोन्मुख ठाउँमा चार तह र दक्षिण ललितपुरमा चार गरेर आठ तह हुनुपर्नेमा जोड दिंदै आएका थियौं । उनि भन्छन् – “दक्षिणमा त ठिकै हो तर नगरमा एउटा बढी हुनुपर्ने हाम्रो माग हो ।” उपमहानगरपालिकामा सैँबु, खोकना र बुङ्मती थपेर महानगरपालिका प्रस्ताव गर्नुपर्ने उनले बताए । जनसङ्ख्या पुगेको नगरपालिका भएकाले महालक्ष्मी नगरपालिकामा अन्यत्र थप्न नहुने उनि बताउछन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ