arrow

निजामती सेवा ऐन तत्काल कार्यान्वयन गर्नुपर्छ : प्रदीप ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
pradip-gyawali-2080-04-30.JPG
तस्बिर-फाइल

पर्वत । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सङ्घीय निजामती सेवा ऐन पारित गरेर तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका छन् । 

नेपाल निजामती कर्मचारी सङ्गठन पर्वतको जिल्ला परिषद् तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार पर्यटकीय गाउँ भुकदेउरालीमा सम्बोधन गर्दै नेता ज्ञवालीले निजामती ऐन कार्यान्वयनमा नल्याउँदा प्रशासनिक क्षेत्रमा समस्या पैदा हुँदै गएको धारणा राखे । उनले सरकारले तत्काल सदनमा लगेर निजामती ऐन पारित गराउनुपर्नेमा जोड दिए ।

उनले निजामती सेवा तथा शिक्षा ऐनलगायतका विधेयक पारित नहुँदा सङ्घीयता कार्यान्वयनमा समस्या भएको बताए । “आम कर्मचारीको मनोबल बढाउनका लागि पनि तत्काल यो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्छ”, उनले भने ।

संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि नयाँ संविधानअनुरूप सङ्घीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माण हुन नसक्नु आश्चर्यको विषय भएको उनको भनाइ थियो । 

पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेले सबै पदमा उम्मेवार उठाउने बताए ।

राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न खोजिएको बताउँदै कसैको विश्वासमा लागेर एमालेले कुनै सहमति र सम्झौता नगर्ने दाबी गरे । 

एमाले सरकारको खेलमा भन्दा पनि पार्टी मजबुत बनाउनतर्फ लागेको बताउँदै ज्ञवालीले २०८१ साललाई शुद्धीकरण वर्षका रूपमा मनाउन तयारी गरेको बताए । 

कार्यक्रममा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सङ्घीय निजामती ऐन पारित गर्न सरकारले आनाकानी गरेको आरोप लगाए ।

उनले कर्मचारी आम नागरिकका सेवक भएको बताउँदै नागरिकलाई चुस्तदुरुस्त सेवा प्रवाह गर्नसमेत आग्रह गरे । स्थायी सरकारका रूपमा रहेका कर्मचारीलाई राज्यले उचित सम्बोधन गर्न नसकेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ