arrow

तल्लो मोदी एक जलविद्युत् आयोजना चार महिनापछि सञ्चालन

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
Lallo-Modikhola-Hydropower.jpg.jpeg
फलेवास (पर्वत)  मोदीखोलामा आएको बाढीले क्षति पुर्‍याउँदा बन्द रहेको पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनाबाट चार महिनापछि विद्युत् उत्पादन सुरु भएको छ । साउन १३ गते आएको बाढीले क्षतिग्रस्त भएको विद्युत्गृह र उपकरणको मर्मत गरिएपछि आइतबार साँझदेखि विद्युत् उत्पादन सञ्चालन भएको हो । मुलुकभर इन्धन अभाव र विद्युत्भार कटौतीको मार खेपिरहेको अवस्थामा आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा थपिएको छ । मोदीखोलाको बाढी विद्युत्गृहमा पसेपछि त्यहाँ रहेका सबै उपकरण र सामानमा क्षति पुगेको थियो । 
 
क्षतिग्रस्त विद्युत्गृह र अन्य संरचना मर्मत गरी एउटा टर्वाइनबाट विद्युत् उत्पादन सञ्चालन गरिएको आयोजनाका निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो । “आयोजनाको मर्मतकार्य सम्पन्न गर्न चार महिना लाग्यो”, निर्देशक गौतमले भन्नुभयो – “परीक्षण सकेर विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारणमा पठाउन सकेका छौँ” आयोजनाले एक नम्बर टर्वाइनको मर्मत सकेकाले तत्काल एउटा टर्वाइनबाट पाँच मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा पठाउने तयारी गरेको छ । दुई नम्बर टर्वाइनसमेत सञ्चालन गर्न अझै दुई हप्ता लाग्ने निर्देशक गौतमले बताउनुभयो । 
 
मोदीखोलामा ६० वर्षपछि आएको ठूलो बाढीले आयोजनाको विद्युत्गृह, सडक र नहरमा गरी रु ३० करोडभन्दा बढी क्षति पुर्‍याएको थियो । विद्युत्गृहको सुरक्षाका लागि लगाइएको पर्खाल भत्काएर मोदीखोलाको बाढी विद्युत्गृहमा पसेपछि सबैभन्दा ठूलो क्षति पुगेको थियो । विद्युत्गृह पानीले भरिएपछि इलेक्ट्रिक र इलेक्ट्रोमेकानिकल सबै सामान काम नलाग्ने अवस्थामा पुगेका थिए । 
 
विद्युत्गृहमा दुई मिटरभन्दा बढी पानीको सतह पुगेपछि जेनेरेटर, टर्वाइन, प्यानलबोर्डमा समेत पानीले भरिएको थियो । निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले तीन वर्ष पहिलेदेखि विद्युत् उत्पादन थालेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ