arrow

पोखरामा कृषि यान्त्रिकरण प्रदर्शनी : ३० हजार दर्शक, ५५ लाख कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
krishi-mela-pokhara-haripanta.jpg

पोखरा । पोखरामा आयोजित प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीमा ५५ लाखको कारोबार भएको छ भने ३० हजार दर्शकले अवलोकन गरेका छन् । साथै ६ करोड बराबरको कृषि सामाग्री बुकिंग भएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घले कृषि यान्त्रिकरण प्रदर्शनी आयोजना गरेको हो । कुल ६० कम्पनीले ७० वटा स्टल प्रदर्शनीमा राखेको थियो ।

उक्त ७० स्टलमध्ये ९ वटा मेडइन नेपाल पभेलियन अन्तर्गत थियो भने १५ वटा रैथाने बालीको स्टल थियो । यस्तै, दुई वटा विदेशी स्टल पनि रहेको थियो । प्रदर्शनीमा १० भन्दा बढी मुलुकका एक हजार भन्दा बढी प्रकारका कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरू अवलोकन तथा खरिदका लागि राखिएका थिए ।

कार्यक्रम सोचेजतिकै भव्य भएको संघका अध्यक्ष कृष्ण शर्माले बताए । अध्यक्ष शर्माका अनुसार कृषि यान्त्रिकरणको प्रवर्द्धन गर्ने उद्देश्यसहित पहिलो पटक प्रदेश स्तरमा प्रदर्शनी गरिएको हो । यसअघि हरेक दुई वर्षमा यस किसिमको प्रदर्शनी हुँदै आएको थियो ।

संघका कोषाध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार मेसिनरी प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले पनि आयोजकको रूपमा साथ दिएका थिए ।

समापन कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आवश्यकता अनुसार कृषिको क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । कृषि भनेको कहिले पनि नहराउने पेशा भएका कारण यसलाई विकास गर्नका निम्ति निरन्तर काम गरिरहनु पर्ने उनले बताए ।

“कृषि भनेको सधैँ रहिरहने पेशा हो, यसलाई निरन्तर रूपमा विकास गर्दै लैजानुपर्छ,” उनले भने । यो विषयलाई हरेक पालिकाले मनन गरेर एक वडा, एक योजना अनुरूप काम गर्दै आएको उनले बताए ।

आजसम्म गरेका प्रयासलाई निरन्तरता दिँदै आगामी दिनमा आवश्यकता अनुसार कृषि क्षेत्रका लागि बजेट विनियोजन गर्दै जाने मेयर आचार्यले बताए ।

संघका सचिव गौरव श्रेष्ठले कार्यक्रम निकै नै उत्साहजनक रहेको भन्दै सोचेजस्तै कार्यक्रमको मुख्य आकर्षण स्वदेशी उत्पादनहरू नै रहेको बताए ।

उनले मिनि ट्रयाक्टर, कुल रुम, टेलर मसिन लगायतका सामग्रीहरू कार्यक्रमको मुख्य आकर्षण भएको बताए ।

प्रदर्शनीमा मेड इन नेपाल स्टलसँगै कृषि यान्त्रिकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी र सेमिनार, रैथाने बालीहरूको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षणसम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया भएका छन् ।

एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरू तथा सेवाहरूको बारे जानकारी गराउन यो प्रदर्शनी आयोजना फलदायी भएको आयोजकको निष्कर्ष छ ।

संघका अनुसार दोस्रो प्रदेश स्तरको कृषि यान्त्रिकरण प्रदर्शनी मधेश प्रदेशमा गर्ने गरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ