arrow

रहेनन् महान् फुटबल हस्ती बेकनबाउर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
franz-beckunbaurer.jpg
तस्बिर – फाइल, सन् १९९० मा म्यानेजर हुँदा ।

काठमाडौँ । जर्मनीका महान् फुटबल खेलाडी फ्रेन्ज बेकनबाउरको निधन भएको छ । उनको आइतबार ७८ वर्षको उमेरमा निधन भएको हो । 

समाचारमा जनाइएअनुसार उनको निद्राकै क्रममा निधन भएको हो । सन् १९७४ मा बेनकबउरकै कप्तानीमा पश्चिम जर्मनीले फाइनलमा नेदरल्याण्ड्सलाई हराएर विश्वकप जितेको थियो । 

उनी सन् १९९० मा जर्मनीले विश्वकप जित्दा टिमका म्यानेजर थिए । विश्वकपमा यो कीर्तिमानी केवल फ्रान्सका वर्तमान प्रशिक्षक डिडियर डेशच्याम्पले हासिल गरेका छन् । 

बेकनबाउर विश्वकपका पाँच संस्करणमा खेलाडी र म्यानेजर भएर उत्रिएका थिए । जसमा पश्चिम जर्मनी चार पटक फाइनल पुगेको थियो । 

उनले सन् १९७२ मा पश्चिम जर्मनीलाई युरोपियन च्याम्पियनशिप पनि दिलाएका थिए । 

उनले करियरमा जर्मनीका तर्फबाट १०४ क्याप जितेका थिए । त्यसैगरी जर्मन क्लब बायर्न म्युनिखका लागि ४०० भन्दा बढी क्याप जितेका थिए । 

उनी सन् १९६४ र १९७७ को बीचमा बबेरियन क्लबका लागि पनि खेलेका थिए । यसबीचमा उनले १३ वर्षको अवधिमा सन् १९७३–७४, १९७४–७५ र १९७५–७६ मा बायर्नको टिममा रहेर युरोपियन कपमा ह्याट्रिक गरेका थिए । 

युरोपियन कपलाई अहिले च्याम्पियन्स लिगका नामले चिनिन्छ । उनले सन् १९६६–६९ मा एक इन्टरकन्टिनेन्टल कप र एक युरोपियन कपका साथ पाँच जर्मन लिग र पाँच जर्मन कप जितेका थिए । बेकनबाउरले सन् १९८४ मा खेलाडी जीवनबाट संन्यास लिएका थिए । त्यसपछि उनी पश्चिम जर्मनीका लागि प्रशिक्षक बने । उनकै मार्गदर्शनबाट पश्चिम जर्मनी सन् १९८६ मा फाइनलमा पुगेको थियो । 

तर जर्मनीले फाइनलमा डिएगो म्याराडोनाको टिम अर्जेन्टिनाले पराजित गरेको थियो । त्यसको चार वर्षपछि फाइनलमा जर्मनीले अर्जेन्टिनालाई हराएर बदला लिएको थियो । 

बेकनबउरले सन् १९६६ को विश्वकपमा चार गोल गरेका थिए । सन् १९७० को विश्वकपको सेमिफाइनलमा इटालीविरुद्ध खेल्दा बेकनबाउरको काँध फुस्केको थियो र पनि उनी हातमा पट्टी बाँधेर खेलेका थिए । यद्यपि यो खेल जर्मनीले ४–३ ले हार्यो । यो खेललाई शताब्दीको खेलको संज्ञासमेत दिइएको थियो । 

यिनै फुटबलको नशा लागेका खेलाडीलाई सन् १९७२ र सन् १९७६ मा विश्वकै सर्वश्रेष्ठ बालोन डि’ओरको पुरस्कार दिइएको थियो । 

बेकनबाउरलाई डेर क्यासर या द एम्पररको उपनामले चिनिन्छ । उनको जन्म सन् १९४५ को सेप्टेम्बरमा म्युनिखमा एक मजदूरको परिवारमा भएको थियो । महान् फुटबलरको दर्जा पाएका बेकनबाउरले अर्का महान् खेलाडी पेलेसँग पनि खेलेका थिए । 

यिनै महान् खेलाडीमाथि सन् २००६ को विश्वकपको आयोजना गर्दा घुस दिएर आयोजना गर्ने अवसर पाएको आरोप लागेको थियो । उनीमाथि सन् २०१४ मा फिफाको इथिक्स कमिशनले ९० दिनसम्म कुनै पनि फुटबलका गतिविधिमा सामेल हुन प्रतिबन्ध लगाएको थियो । उनलाई अनुसन्धानमा सहयोग नगरेको आरोपमा सात हजार स्वीस फ्रयाङ्क पनि जरिबाना गरिएको थियो । सन् २०१६ मा उनले एक लेख लेख्दै आरोपको खण्डन गर्दै आफूले यस्तो नगरेको बताएका थिए । सन् २०२१ आएर फिफाले उक्त अनुसन्धान बन्द गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ