arrow

प्रचण्ड र रेखाको दबाब थेग्न नसकेर प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
purushottam-khanal-prachand.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको दबाब खेप्न नसकेर उनले मंगलबार राजीनामा दिएका हुन् । 

अध्यक्ष खनालले बुधबारदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको स्रोतले बताएको छ । उनले आज बिहान केही कर्मचारीहरूलाई आफूले राजीनामा दिएको जानकारी गराएर बाहिरिएका थिए । 

उनको आगामी साउन ५ गते कार्यकाल सकिँदै गर्दा सात महिनाअघि नै उनले राजीनामा दिएका हुन् । २०७६ साल साउन ६ गते केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । 

प्रचण्डको सरकारले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स), मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लगायतका परियोजनामा विवादित भएको कारण देखाउँदै उनलाई राजीनामा दिन बाध्य पारेको बताइएको छ ।

यी परियोजना अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहँदा प्रचण्ड सरकारले अध्यक्षलाई नै हट्न दबाब दिएको हो । 

स्रोतका अनुसार अमुक कम्पनीलाई पूर्वाधार सेवा प्रदायक लाइसेन्स दिनुपर्ने दबाब प्रधानमन्त्री कार्यालयले दिएपछि खनालले बाध्य भएर राजीनामा दिएका हुन् । 

बर्खास्त गर्ने चेतावनीसमेत पाएपछि उनले बाध्य भएर राजीनामा दिएका हुन् । योसँगै प्रचण्ड सरकारले आफू अनुकूल व्यक्तिलाई नेतृत्वमा ल्याउने बुझिएको छ । 

अध्यक्ष हुनु अघि खनाल प्राधिकरणकै वरिष्ठ निर्देशकको रूपमा कार्यरत रहेका थिए । 

अध्यक्ष खनालले एनसेलको मुद्धामासमेत प्रचण्ड सरकारलाई सहयोग नगरेको आरोपसमेत लगाइन्छ । एमडीएमएसमा प्राधिकरणले चालेको कदममासमेत प्रचण्ड खुशी थिएनन् । अनधिकृत रुपमा आइरहेका मोबाइललाई रोक्ने कदम चालेका खनालको शैली प्रचण्ड सरकारलाई मन परेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ