arrow

सिधै लगानी गर्न पाउने सम्झौता खारेज गर्नुपर्छ : कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
kamal-thapa-pokhara-haripanta.jpg

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भारतीय दूतावासले २० करोडसम्म सिधै विकास आयोजनामा लगानी गर्न सक्ने गरी भारतसँग भएको सम्झौताप्रति आपत्ति जनाएका छन् ।

पोखरामा पत्रकार सम्मेलन गरेर अध्यक्ष थापाले यो सम्झौताले समानान्तर सरकारको झझल्को दिने र नेपालको राष्ट्रियता र सार्वभौमिकतासमेत कमजोर बनाउने जिकिर गरे । साथै उनले यो सम्झौता कार्यान्वयनमा जानु अघि नै खारेज गर्न माग गरे ।

अध्यक्ष थापाले भारतका विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल भारतसँग सम्बन्धित महत्वपूर्ण विषयवस्तु उठानमा सरकार निरीह भएको आरोप लगाए ।

बहुचर्चित इपिजी, १९५० को सन्धी पुनरावलोकन, सीमा विवाद लगायतका विषयमा मौन रहनुले सरकार कति निरीह छ भन्ने कुरा पुष्टि हुने उनले बताए ।

अध्यक्ष थापाले भारतसँग भएको विद्युत व्यापार सम्झौता भने निकै सकारात्मक र स्वागत योग्य भएको बताए । उनले यो सम्झौताले नेपाल भारतबीचको व्यापार घाटा कम गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

अर्को प्रसंगमा अध्यक्ष थापाले राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलहरुले उम्मेद्वार चयनमा गरेका हर्कतले संविधानको मर्म र भावनाको उपहास गरेको आरोप लगाए ।

उनले भने, ‘राष्ट्रियसभा भनेको सीमान्तकृत, अल्पसंख्यक र विज्ञहरुको सहभागिता रहनुपर्ने संसद हो तर दलहरुले गत निर्वाचनमा पराजित भएका र पटकपटक अवसर पाएकालाई उम्मेद्वार बनाएका छन् । अल्पसंख्यक, सीमान्तकृत र समावेशी प्रतिनिधित्वलाई उपेक्षा गर्नु आपत्तिजनक छ ।’ यस्तैयस्तै गतिविधिले संघीय गणतन्त्रको औचित्य सकिँदै गएको उनले जिकिर गरे ।

संघीय धर्म निरपेक्ष गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल भएको उनको तर्क छ । संघीय गणतन्त्र भ्रष्ट, तस्कर र सिण्डिकेट तन्त्रमा परिणत भएको अध्यक्ष थापाले बताए ।

अब यो व्यवस्था परिवर्तन अनिवार्य भएको उनले बताए । यसको विकल्पमा सर्वधर्मसभा धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेश सरकार खारेज गरी स्थानीय र संघीय गरि दुई तहको मात्र सरकार बनाउनुपर्नेमा अध्यक्ष थापाको जोड छ ।

उनले देश र जनताको वृहत हितमा विचार मिल्नेहरुसँग बृहत् मोर्चा बनाउन आह्वान गरेका छन् । व्यवस्थाकै कारण राजनीति अस्थिर भएको तथा विकास र समृद्धि हासिल हुन नसकेको भन्दै उनले बृहत् मोर्चा बनाउन माग गरेका हुन् । ‘अहिलेको व्यवस्था नै खराब हो’, उनले भने, ‘यो व्यवस्थामा जो सरकारमा गए पनि केही गर्न सक्दैन ।’

अध्यक्ष थापाले व्यवस्था नै खराब भएकाले यो नबदलिएसम्म देशमा शान्ति, स्थिरता, विकास र समृद्धि नहुने दाबी गरे । ‘त्यसैले व्यवस्था बदल्नुपर्छ’, उनले भने, ‘यसका लागि एक्लाएक्लै लडेर जनआन्दोलन हुँदैन । अनि त्यसरी भएको आन्दोलनले व्यवस्था पनि बद्लिँदैन ।’

उनले त्यसरी बनाइने बृहत मोर्चाको नेतृत्व पनि सामूहिक बनाउनुपर्ने बताए । उनले भने, ‘विचार मिल्नेहरुको मोर्चा बनाउन सकिन्छ र सक्छौं पनि । अनि नेतृत्व पनि सामूहिक बनाऔं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ