arrow

वात्स्यायन ऋषिको तपोभूमिमा गोकुल धाम, धाम चलाउन महायज्ञ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
gakul-dham-pokhara-mainphoto-haripanta.jpg

पोखरा । पोखरा महानगरपालिकाले १९ वर्षदेखि फोहोर विसर्जन गर्दै आइरहेको ठाउँ पोखरा महानगरपालिका वडा नं. १४ बाच्छीबुढुवाको बात्स्यायन क्षेत्रमा पुष्करिणी परोपकार गोकुल धाम (गौशाला) शुभारम्भ भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ल्याण्डफिल साइट त्यहाँबाट अन्यत्र सरेपछि त्यो ठाउँको सदुपयोग गर्दैै गौशाला निर्माण गरिएको हो ।

पोखरा महानगरको टाउको दुखाईको विषय बन्दै आएको छाडा चौपाया व्यवस्थापन अब यही गौशालामा गरिनेछ । योगी नरहरिनाथले कोटी होमसमेत चलाएको यस क्षेत्र बात्स्यायन ऋषिको तपोभूमि र मानपुरी महात्माले साधना गरेको पुण्य भूमि हो । यहाँ लामो समयदेखि वात्स्यायन वृद्धाश्रमसमेत सञ्चालनमा छ । धाम सञ्चालनसँगै सडक सुरक्षित बन्ने र यातायात व्यवस्थापनमा सहजता आउनुका साथै गौ रक्षामा टेवा पुग्ने विश्वास गरिएको छ ।

गौ रक्षा अभियानलाई सार्थक बनाउन र गोकुल धामलाई दीर्घकालिनरुपमा सञ्चालनका लागि बिहीबारदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको पोखरा महानगर प्रमुख धनराज आचार्यले शुभारम्भ गरे । पोखराको सडकमा बेवारिसे अवस्थामा छाडा छोडिएका पशुचौपायहरुको उद्धार गरी संरक्षण प्रदान गरिएको गोकुल धाम (गौशाला) को दिगो व्यवस्थापनमा महायज्ञले महत्त्वपूर्ण सहायता पुग्ने उनको विश्वास छ ।

“बढ्दो जनघनत्वसँगै पोखरामा जथाभावीरूपमा छोडिएका पशुचौपायका कारण सडक असुरक्षित बन्दै गइरहेको बेला ती पशुचौपायाहरुको व्यवस्थापनका लागि व्यवस्थित गौशाला सञ्चालन गरिएको छ’, प्रमुख आचार्यले भने, ‘यसबाट सडक सुरक्षित बन्ने र यातायात व्यवस्थापनमा सहजता आउनुका साथै गौ रक्षामा टेवा पुग्नेछ ।”

पोखरा महानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि विभिन्न प्रयत्नहरू गर्दै आइरहेको भन्दै प्रमुख आचार्यले महानगरको अभियानमा सहयोग पुग्ने गरी व्यवस्थित गौशाला सञ्चालन गरेको स्पष्ट पारे ।

प्रमुख आचार्यले गौशाला सञ्चालनका लागि व्यवस्थापन पक्षसँग आवश्यक समन्वय र सहकार्य गर्दै आइरहेको भन्दै गौशालाको दिगो सञ्चालनका लागि महानगरपालिकाको तर्फबाट सबैप्रकारको सहयोग वचन पनि दिए ।

साथै उनले गौशालालाई पोखराको एक पर्यटन गन्तव्यका रूपमा विकास गरिने र पोखरा आउने पर्यटकलाई यहाँसम्म आउने वातावरण सृजना गरिने वचन दिए ।

पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले वडामा एक नयाँ आयाम थपिएको उल्लेख गर्दै महानगरले गौशालालाई गर्नुपर्ने सम्पूर्ण सहयोग गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक एवं पुष्करिणी परोपकार गोकुल धामका परिकल्पनाकार भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले गौ माताको सेवाका लागि नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए ।

महायज्ञपछि विभिन्न अवधिका शिविरहरू सञ्चालन गर्ने र विद्यार्थीहरूका लागि नैतिक शिक्षाका कक्षाहरू चलाउने बताए । नैतिक शिक्षा र पूर्वीय सभ्यताको समाजमा सिञ्चित गर्ने अभियान गोकुल धामबाट सुरुवात गरिने गौतमले स्पष्ट पारे ।

सदिऔँदेखि चल्दै आएका संस्कार, संस्कृति र परम्पराहरू हराउँदै गएको उल्लेख गर्दै उनले त्यसको जगेर्नाका लागि पनि एकीकृत हुनुपर्ने आवश्यकता रहेको बताए । गौ माताको दूर्दशा र दर्दलाई समाधान गर्न गौशाला सफल हुने उनको विश्वास छ ।

परोपकार वडा इकाई वडा नं. ३१ का अध्यक्ष कृष्ण ढुङ्गानाले गौ सेवा नै संसारको सबैभन्दा पुण्य कर्म भएको बताए ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले गौशाला निर्माणसँगै छाडा पशुचौपायाका कारण अस्तव्यस्त बनेको पोखरालाई सुरक्षित र सुन्दर बनाउने विश्वास व्यक्त गरे ।

सडकमा पशुचौपाया आउने अवस्थाको अन्त्यका लागि पशुपालनको लगत तयार गरी स्रोत मै व्यवस्थापन गर्ने तयारी गरिएको उनले बताए ।

माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञमा कथा वाचन हुनेछ । भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन गर्नेछन् ।

तस्बिरहरु

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ