arrow

राजसंस्था पुनर्स्थापना राप्रपा वा राप्रपा नेपाल मात्रै मिलेर पनि हुँदैन [भिडियो]

राजादेखि माओवादीसम्म सबै अटाउने राजनीतिक प्रणालीको विकास गरौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
kamal-thapa-rpp-chiyapan.jpg

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनर्स्थापना हुन नसक्ने बताएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरू बीचको वृहत् मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्न सकिने बताएका हुन् । 

२०३ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रवार पार्टीले काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे । 

कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सके मात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने अध्यक्ष थापाको भनाई थियो । 

उनले पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यस रूपमा हेर्न नहुने पनि बताउनु भयो । थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राजकीय रूपमा मनाउन र उनको तस्बिर नेपाली नोटमा अङ्कित गर्न पनि सरकारसँग माग गरे ।

उनले भने, ‘जहाँसम्म हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने कुरा छ । यो केवल राप्रपा वा राप्रपा नेपाल मात्रै मिलेर पनि हुँदैन । यो त सबै राष्ट्रवादी, प्रजातान्त्रिक, देशभक्त शक्तिहरूको बीचमा एकता र एउटा वृहत् मोर्चाको आवश्यकता पर्दछ । र, वास्तवमा आजको दिन राष्ट्रिय एकता दिवसको दिन म सबै राजनीतिक दलहरूलाई विशेष रूपले आग्रह गर्न चाहन्छु कि हामीले कसैलाई पनि निषेध नगरौँ । राजादेखि माओवादीसम्म सबै अटाउने राजनीतिक प्रणालीको विकास गर्ने र सबै नेपाली मिलेर देशमा शान्ति, स्थायित्व कायम गर्ने र देशको समग्र आर्थिक विकास गर्ने दिशामा आजको दिनले प्रेरणा देओस् भन्ने म कामना पनि गर्न चाहन्छु । पृथ्वीनारायण शाहको योगदान कुनै राजनीतिक व्यवस्था वा संस्थासँग मात्रै सम्बन्धित छैन । समय, काल र परिस्थिति अनुसार राजनीतिक व्यवस्था परिवर्तन हुँदै जान्छ । तर नेपाली पहिचान, नेपाली नाम, जुन पृथ्वीनारायण शाहले हामीलाई दिनुभयो । त्यो कहिल्यै पनि समाप्त हुने कुरा होइन । नेपाल रहिरहेसम्म राष्ट्र निर्माताको योगदान सदैव अविस्मरणीय रहनेछ । यो वास्तविकतालाई बुझेर सिंगो राज्यले नै पृथ्वीनारायण शाहको योगदानको संस्मरण गर्नुपर्दछ । ’

अध्यक्ष थापाले पृथ्वी जयन्ती नेपालको गौरव र शानसँग सम्बन्धित भएको दाबी गर्दै यसलाई राजकीय सम्मानका साथ बनाउनुपर्ने तर्क समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ